१ येशू पवित्र आत्माले भरपूर भएर यर्दनबाट फर्कनुभयो र आत्माद्वारा उहाँ उजाडस्थानमा लगिनुभयो, २ अनि उहाँ त्यस ठाउँमा चालीस दिनसम्म शैतानबाट परीक्षित हुनुभयो। ती दिनहरूमा उहाँले केही खानुभएन, र अन्त्यमा उहाँ भोकाउनुभयो। ३ तब शैतानले उहाँलाई भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यस ढुङ्गालाई रोटी भइजा भनी आज्ञा दिनुहोस्।” ४ येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन।’” ५ शैतानले उहाँलाई एउटा उच्च स्थानमा लग्यो र एकै क्षणमा संसारका सबै राज्यहरू देखायो। ६ अनि त्यसले उहाँलाई भन्यो, “यी राज्यका सबै अधिकार र गौरव म तपाईंलाई दिनेछु; किनकि यी सबै थोक मलाई दिइएका छन्, र म जसलाई चाहन्छु, त्यसलाई यो दिन सक्छु। ७ यदि तपाईंले मलाई दण्डवत् गर्नुभयो भने यी सबै तपाईंका हुनेछन्।” ८ येशूले जवाफ दिनुभयो, “लेखिएको छ: ‘तैँले आफ्ना प्रभु परमेश्वरलाई दण्डवत् गर्नू र उहाँको मात्र सेवा गर्नू।’” ९ तब शैतानले उहाँलाई यरूशलेममा लगेर मन्दिरको टुप्पामा राखेर भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्। १० किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘उहाँले तिम्रो सम्बन्धमा होसियारीसाथ सुरक्षा गर्न आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ, ११ अनि तिनीहरूले तिमीलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्, ताकि तिम्रो खुट्टा ढुङ्गामाथि नबजारियोस्।’” १२ येशूले जवाफ दिनुभयो, “यसो लेखिएको छ: ‘तैँले प्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू।’” १३ शैतानले उहाँको परीक्षा गर्न यी सबै काम सकेपछि अनुकूल समय नहोउन्जेलसम्म उहाँलाई छोडेर गयो। १४ येशू पवित्र आत्माको शक्तिमा गालील प्रदेशमा फर्कनुभयो र उहाँको बारेमा सारा मुलुकभरि खबर फैलियो। १५ उहाँले तिनीहरूका सभाघरहरूमा गएर शिक्षा दिनुभयो र सबैले उहाँको प्रशंसा गरे। १६ उहाँ नासरतमा जानुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। अनि शब्बाथमा उहाँ आफ्नो रीतिअनुसार सभाघरमा जानुभयो, र पढ्नलाई उभिनुभयो। १७ यशैया अगमवक्ताको पुस्तक उहाँलाई पढ्न दिइयो। त्यो पुस्तक खोलेर उहाँले यसो लेखिएको खण्ड निकाल्नुभयो: १८ “प्रभुको आत्मा ममाथि छ, किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र दृष्टिविहीनहरूलाई दृष्टि दिलाउन, उत्पीडनमा परेकाहरूलाई स्वतन्त्र गराउन, १९ र प्रभुको निगाहको वर्ष घोषणा गर्न पठाउनुभएको छ।” २० त्यसपछि त्यो पुस्तक बन्द गरेर उहाँले सेवकलाई दिनुभयो र बस्नुभयो। सभाघरमा भएका हरेकले उहाँलाई एक टक हेरिरहेका थिए। २१ अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आज तिमीहरूको सुनाइमा यो धर्मशास्त्र पूरा भएको छ।” २२ सबैले उहाँको प्रशंसा गरे, र उहाँको मुखबाट आएका अनुग्रहपूर्ण वचनमा छक्क परे; अनि तिनीहरूले सोधे, “के यिनी योसेफका छोरा होइनन् र?”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00