१७ एक दिन येशूले शिक्षा दिइरहनुहुँदा गालील प्रदेशका हरेक गाउँ, यहूदिया प्रदेश र यरूशलेमबाट आएका फरिसीहरू र व्यवस्थाका शिक्षकहरू त्यहीँ बसिरहेका थिए। अनि बिरामीहरूलाई निको पार्नका लागि प्रभुको शक्ति उहाँसँग थियो। १८ केही मानिसहरूले पक्षघात भएको एउटा मानिसलाई ओछ्यानमा बोकेर ल्याए, र त्यस मानिसलाई येशूको अगिल्तिर राखिदिन घरभित्र लैजान प्रयास गरे। १९ तर भीडको कारणले गर्दा केही उपाय नलागेपछि तिनीहरू छानामाथि चढे, र छानालाई उक्काएर त्यसको ओछ्यानसमेत नै त्यहीँबाट ठिक येशूको सामु ओरालिदिए। २० जब येशूले तिनीहरूको विश्वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, “मित्र, तिम्रा पापहरू क्षमा भएका छन्।” २१ फरिसी र व्यवस्थाका शिक्षकहरूले आफैँमा विचार गर्न लागे, “ईश्वरनिन्दा गर्ने यो मानिस को हो? परमेश्वरबाहेक अरू कसले पाप क्षमा गर्न सक्छ?” २२ तिनीहरूका विचारहरू थाहा पाएर येशूले सोध्नुभयो, “आफ्ना हृदयमा तिमीहरूले किन यस्ता कुराहरू विचार गर्दैछौ? २३ के भन्नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्नु वा ‘उठ र हिँड’ भन्नु? २४ तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान।” उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोकेर घर जाऊ।” २५ त्यो तुरुन्तै तिनीहरूका बीचमा उठ्यो, र आफू जुन ओछ्यानमा थियो, त्यसलाई बोकेर परमेश्वरको प्रशंसा गर्दै घर फर्कियो। २६ सबै जनाले अचम्म माने र परमेश्वरको प्रशंसा गरे। तिनीहरू भयभीत भएर भने, “आज हामीले आश्चर्यका कामहरू देखेका छौँ।” २७ त्यसपछि येशू बाहिर जानुभयो, र उहाँले लेवी नाम भएका एक जना कर उठाउनेलाई तिनको अड्डामा बसिरहेका देख्नुभयो। येशूले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” २८ तिनी सबै कुरा छोडेर उठे र उहाँको पछि लागे। २९ त्यसपछि लेवीले आफ्नो घरमा येशूका निम्ति एउटा ठूलो भोजको आयोजना गरे। कर उठाउनेहरू र अरू मानिसहरू ठूलो संख्यामा भोजमा बसिरहेका थिए। ३० तर तिनीहरूका सम्प्रदायका फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँका चेलाहरूसँग गनगन गरे, “तिमीहरू किन कर उठाउनेहरू र पापीहरूसित खानपान गर्दछौ?” ३१ येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “निरोगीलाई त चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्दछ। ३२ म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00