येशूको शक्ति

संगती

हामीले भेटेको पछिल्लो समयदेखि तपाईसँग के भएको छ भन्ने आधारमा, तपाई के कुराको लागि धन्यवादी हुनुहुन्छ?
यस हप्ता तपाईलाई कुन कुराले तनाव दियो, र ति कुराहरु सुधार गर्नका लागि तपाईलाई के चाहिन्छ?
तपाईंको समुदायका मानिसहरूका आवश्यकताहरू के-के छन्, र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?
पछिल्लो पटक हामीले हेरेको कथा के थियो? हामीले परमेश्वर र मानिसहरूको बारेमा के सिक्यौं?
हाम्रो पछिल्लो बैठकमा, तपाईंले सिकेका कुराहरू लागू गर्ने निर्णय गर्नुभएको थियो। तपाइले के गर्नुभयो र त्यो कस्तो रह्यो?
तपाइले अघिल्लो कथाबाट केहि कुरा कसलाई बताउनु भयो? उनीहरूले कसरी प्रतिक्रिया दिए?
हामीले पछिल्लो पटक धेरै आवश्यकताहरू पहिचान गर्यौं र ती आवश्यकताहरू पूरा गर्ने योजना बनायौं। यो कस्तो भयो?
अब, आउनुहोस्, हामी आजको परमेश्वरको कथा पढौं...

मर्कूस ४: ३५-५: २०

३५ त्यही दिन, साँझ परेपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “हामी पारिपट्टि जाऔँ।” ३६ अनि भीडलाई बिदा दिइसकेपछि, येशू जुन डुङ्गामा बस्‍नुभएको थियो, तिनीहरूले त्यसैमा उहाँलाई लगे। त्यस बेला त्यहाँ अरू डुङ्गाहरू पनि थिए। ३७ त्यसै समयमा डरलाग्दो आँधी आयो र छालहरू डुङ्गामा बज्रिन लागे। पानीले त्यस डुङ्गालाई डुबाउनै लाग्यो। ३८ येशूचाहिँ डुङ्गाको पछिल्‍लो भागमा एउटा सिरानी लगाएर निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई बिउँझाएर भने, “हे गुरु, हामी डुब्नै लागेका छौँ, र पनि तपाईंले वास्ता गर्नुहुन्‍न?” ३९ उहाँले उठेर आँधी र छालहरूलाई हप्काउँदै भन्‍नुभयो, “चुप लाग्! शान्त होइजा!” तब आँधी उत्तिनै खेर पूर्ण रूपले थामियो, र पूरै शान्त भइहाल्यो। ४० उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू किन यति साह्रै डराउँछौ? के तिमीहरूमा अझ पनि विश्‍वास छैन?” ४१ तिनीहरू निकै डराए, र आपसमा भने, “यिनी को हुन्? आँधी र छालहरूले पनि यिनको आज्ञा मान्दा रहेछन्!” उहाँहरू तालको पारिपट्टि गिरासिनीहरूको मुलुकमा जानुभयो। जब येशू डुङ्गाबाट बाहिर निस्कनुभयो, तब त्यहाँ अशुद्ध आत्मा लागेको एउटा मानिस चिहानबाट उहाँलाई भेट्न आयो। त्यो मानिस चिहानहरूमा बस्थ्यो। कसैले पनि त्यसलाई साङ्लोले पनि बाँधेर राख्न सक्दैनथ्यो। किनभने धेरैपल्ट त्यसलाई हातखुट्टामा साङ्लोले बाँधिएको थियो; तर त्यसले साङ्लाहरू चुडाउँथ्यो, र खुट्टाका फलामहरू भाँच्थ्यो। त्यसलाई अधीनमा राख्न सक्ने बल कसैसँग थिएन। त्यो दिनरात चिहानहरूमा र पहाडहरूमा रहन्थ्यो; चिच्याउँथ्यो र आफैँलाई ढुङ्गाले काट्ने गर्दथ्यो। जब त्यसले टाढैबाट येशूलाई देख्यो, तब त्यो दगुरेर उहाँको सामु गई उहाँलाई दण्डवत् गर्‍यो। त्यसले चर्को सोरले कराएर भन्यो, “हे सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, तपाईं मसित के चाहनुहुन्छ? परमेश्‍वरको नाममा बिन्ती गर्दछु, मलाई नसताउनुहोस्!” किनकि येशूले त्यसलाई भन्‍नुभएको थियो, “हे अशुद्ध आत्मा, तँ यस मानिसबाट बाहिर निस्केर जा!” तब येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो?” त्यसले जवाफ दियो, “मेरो नाम फौज हो; किनकि हामी धेरै छौँ।” १० अनि त्यसले येशूलाई त्यस इलाकादेखि तिनीहरूलाई बाहिर नपठाउन बारम्बार बिन्ती गर्‍यो। ११ त्यहाँ नजिकै, पहाडमा सुँगुरहरूको एउटा ठूलो बगाल चरिरहेको थियो। १२ ती भूतआत्माहरूले येशूलाई यसरी बिन्ती गरे, “हामीलाई ती सुँगुरहरूमा पठाउनुहोस्; तिनीहरूभित्र पस्‍न दिनुहोस्।” १३ उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अनि अशुद्ध आत्माहरू निस्केर सुँगुरहरूभित्र पसे। करिब दुई हजार सुँगुरको बगाल भिरालो किनारबाट हुरमुरिँदै गएर तालमा खसेर डुबेर मरे। १४ ती सुँगुर चराउनेहरू त्यहाँबाट भागे। सहर र गाउँतिर गएर त्यो खबर सुनाइदिए, तब मानिसहरू के भएको थियो, सो हेर्न गए। १५ जब तिनीहरू येशूकहाँ आए, तब तिनीहरूले दुष्‍ट आत्माको फौजले भरिएको त्यस मानिसलाई लुगा पहिरेको र ठिक भएर त्यहाँ बसिरहेको देखे; अनि तिनीहरू डराए। १६ जतिले यो देखेका थिए, तिनीहरूले त्यस दुष्‍ट आत्मा लागेको मानिसलाई के भएको थियो, र सुँगुरहरूको विषयमा पनि मानिसहरूलाई भनिदिए। १७ तब मानिसहरूले येशूलाई त्यस क्षेत्रबाट गइहाल्नुहोस् भनेर बिन्ती गरे। १८ येशू डुङ्गामा चढ्न लाग्नुहुँदा त्यो दुष्‍ट आत्माले सताएको मानिस आएर उहाँसँगै जान पाऊँ भनी बिन्ती गर्‍यो। १९ तर येशूले मान्‍नुभएन, बरु यसो भन्‍नुभयो, “घरमा जाऊ, र आफ्नो परिवारलाई तिम्रा लागि प्रभुले कति ठूलो काम गर्नुभएको छ र उहाँले तिमीप्रति कति कृपा देखाउनुभयो, त्यो सबैलाई भनिदेऊ।” २० त्यसपछि त्यो मानिस गइहाल्यो र येशूले उसका लागि के गर्नुभयो, त्यो डेकापोलिसमा भन्‍न थाल्यो; अनि सबै मानिसहरू छक्‍क परे।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International

प्रयोग

अब, कसैलाई यो खण्डलाई आफ्नै शब्दमा दोहोर्याउन लगाउ, मानौं कि तिनीहरूले कहिल्यै नसुनेका साथीलाई भनिरहेछन्। गल्तीले केही छोडेमा वा थपेमा उनीहरूलाई मद्दत गरौं।यदि त्यसो हुन्छ भने हामी सोध्न सक्छौं, "तपाईले त्यो कथामा कहाँ फेला पार्नुहुन्छ?"
यस कथाले हामीलाई परमेश्वर, उहाँको चरित्र र उहाँ के गर्नुहुन्छ भन्ने बारेमा के सिकाउँछ?
यस कथाबाट हामी आफैंलगायत मानिसहरूको बारेमा के सिक्न सक्छौं?
यस कथाबाट परमेश्वरको सत्यातालाई यस हप्ता तपाईं आफ्नो जीवनमा कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?
हामी फेरि भेट्नु अघि यो कथाको सत्यता तपाई कसलाई बताउनुहुन्छ? के तपाइँ अरू कोहि ब्यक्तिहरुलाई चिन्नुहुन्छ जो हामी जस्तै यस एपमा परमेश्वरको वचन बुझ्न चाहन्छन्?
अब हाम्रो बैठक सकिने क्रममा छ, हामी फेरि कहिले भेट्ने र अर्को बैठक कसले सहजीकरण गर्ने भनेर निर्णय गरौ।
हामी तपाईंलाई यो उत्साह दिन चाहनछौ कि तपाईंले गर्छु भनेको कुरा नोट गर्नुहोस, र फेरि भेट्नु अघिका दिनहरुमा यो कथा फेरी दोहोराएर पढ्नुहोस। यदि कसैसँग यो सामग्री छैन भने, सहजकर्ताले कथाको पाठ वा अडियो पठाएर मद्दत गर्न सक्नुहुन्छ। छुट्दै गर्दा, परमेश्वरको सहायताको लागि प्रार्थना गरौं।

0:00

0:00