३६ तब येशू आफ्ना चेलाहरूसित गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो, र उहाँले तिनीहरूलाई भन्नुभयो, “म अलि पर गएर प्रार्थना गर्नेछु। तिमीहरू यहीँ बस!” ३७ उहाँले पत्रुस र जब्दीका दुई छोराहरूलाई आफूसित लानुभयो, र उहाँ दुःखित र व्याकुल हुन थाल्नुभयो। ३८ तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ; तिमीहरू यहीँ बस, र मसित जागा रहो!” ३९ अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि सम्भव भए यो कचौरा मदेखि हटाइयोस्; तरै पनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।” ४० तब उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो, र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई सोध्नुभयो, “के तिमीहरू मसित एक घण्टा पनि जागा रहन सकेनौ? ४१ जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।” ४२ उहाँ दोस्रोपल्ट पर जानुभयो र प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि मैले नपिई यो कचौरा मबाट हटाइनु सम्भव छैन भने तपाईंको इच्छा पूरा होस्।” ४३ जब उहाँ फर्केर आउनुभयो, उहाँले फेरि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो; किनकि तिनीहरूका आँखा लोलाएका थिए। ४४ यसकारण उहाँले तिनीहरूलाई छोडेर एकपल्ट फेरि गएर उही शब्दहरू दोहोर्याउँदै प्रार्थना गर्नुभयो। ४५ तब उहाँ चेलाहरूकहाँ फर्किआएर तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? हेर, समय आइपुगेको छ, अब मानिसको पुत्रलाई पापीहरूका हातमा सुम्पिइँदैछ। ४६ उठ! हामी जाऔँ! हेर, मलाई पक्राइदिने आइपुगेको छ!” ४७ उहाँ बोलिरहनुभएकै बेला, बाह्र जनामध्ये एक जना यहूदा आइपुग्यो। ऊसँग मुख्य पुजारीहरू र जनताका प्रधानहरूद्वारा पठाइएका ठूलो भीड तरवार र लाठाहरू लिएर आएको थियो। ४८ त्यस विश्वासघातीले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्रनू।” ४९ यहूदा तुरुन्तै येशूकहाँ गयो, र “गुरुज्यू, अभिवादन!” भनेर उहाँलाई म्वाइँ खायो। ५० येशूले त्यसलाई भन्नुभयो, “मित्र, तिमी जे गर्न आएका हौ, त्यो गरिहाल।” तब ती मानिसहरू अगि बढेर येशूलाई पक्रे, र हिरासतमा लिए। ५१ यो देखेर येशूसित हुनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुत्यो, र प्रधान पुजारीको सेवकलाई प्रहार गरेर उसको कान च्वाट्टै काटिदियो। ५२ येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार फेरि म्यानमै राख; किनकि जसले तरवार चलाउँछ, त्यो तरवारद्वारा नै नष्ट हुनेछ। ५३ तिमीलाई कस्तो लाग्छ, के म आफ्ना पितासित बिन्ती गर्दा, उहाँले मलाई झट्टै बाह्र पल्टनभन्दा बढी दूतहरू पठाइदिन सक्नुहुन्न र? ५४ तर यदि मैले त्यसो गरेँ भने धर्मशास्त्रमा यस्तै हुनुपर्छ भन्ने कुरा कसरी पूरा हुने त?” ५५ त्यस बेला येशूले त्यस भीडलाई भन्नुभयो, “के म एउटा राजद्रोहको अगुवाइ गरिरहेको छु र? अनि तपाईंहरू मलाई पक्रन तरवार र लाठाहरू लिएर आउनुभयो? म त दिनहुँ मन्दिरको चोकमा सिकाउँदै बस्थेँ, र तपाईंहरूले मलाई पक्रनुभएन। ५६ तर अगमवक्ताहरूले लेखेका कुराहरू पूरा हुनलाई नै यी सबै भएका हुन्।” तब सबै चेलाहरू उहाँलाई छोडेर भागे।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00