येशुलाई क्रुसमा चढाउनु

संगती

हामीले भेटेको पछिल्लो समयदेखि तपाईसँग के भएको छ भन्ने आधारमा, तपाई के कुराको लागि धन्यवादी हुनुहुन्छ?
यस हप्ता तपाईलाई कुन कुराले तनाव दियो, र ति कुराहरु सुधार गर्नका लागि तपाईलाई के चाहिन्छ?
तपाईंको समुदायका मानिसहरूका आवश्यकताहरू के-के छन्, र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?
पछिल्लो पटक हामीले हेरेको कथा के थियो? हामीले परमेश्वर र मानिसहरूको बारेमा के सिक्यौं?
हाम्रो पछिल्लो बैठकमा, तपाईंले सिकेका कुराहरू लागू गर्ने निर्णय गर्नुभएको थियो। तपाइले के गर्नुभयो र त्यो कस्तो रह्यो?
तपाइले अघिल्लो कथाबाट केहि कुरा कसलाई बताउनु भयो? उनीहरूले कसरी प्रतिक्रिया दिए?
हामीले पछिल्लो पटक धेरै आवश्यकताहरू पहिचान गर्यौं र ती आवश्यकताहरू पूरा गर्ने योजना बनायौं। यो कस्तो भयो?
अब, आउनुहोस्, हामी आजको परमेश्वरको कथा पढौं...

लूका २३: ३२-५६

३२ अरू दुई जना मानिसहरू, जो अपराधी थिए, तिनीहरू पनि उहाँसँगै मृत्युदण्ड दिन लगिए। ३३ तिनीहरू खप्परे भनिने ठाउँमा आएपछि त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। ती अपराधीहरू पनि टाँगिए—एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ उहाँको देब्रेपट्टि। ३४ येशूले भन्‍नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गरिदिनुहोस्; किनकि यिनीहरूले के गर्दैछन्, सो जान्दैनन्।” अनि तिनीहरूले उहाँको वस्त्र चिट्ठा हालेर आपसमा बाँडे। ३५ भीडले यो दृश्य हेर्दै त्यहाँ उभिए, र शासकहरूले उहाँको ठट्टा पनि गरे। तिनीहरूले भने, “यसले अरूलाई त बचायो; यदि यो परमेश्‍वरको ख्रीष्‍ट, चुनिएको जन हो भने आफैँलाई बचाओस्।” ३६ सिपाहीहरू पनि आए, र उहाँको गिल्‍ला गरे। तिनीहरूले उहाँलाई सिर्का दिए, ३७ र भने, “यदि तँ यहूदीहरूको राजा होस् भने आफूलाई बचा।” ३८ उहाँको माथिपट्टि एउटा लिखित दोषपत्र थियो, जसमा यसो लेखिएको थियो: “यो यहूदीहरूको राजा हो।” ३९ त्यहाँ झुण्डिएका अपराधीहरूमध्ये एउटाले उहाँको अपमान गर्दै भन्यो: “के तिमी ख्रीष्‍ट होइनौ? तिमी आफैँलाई र हामीलाई पनि बचाऊ!” ४० तर अर्को अपराधीले त्यसलाई हप्कायो। त्यसले भन्यो, “तँ पनि त्यही दण्डमा छस्, र पनि परमेश्‍वरको डर मान्दैनस्? ४१ हामीले त न्यायोचित रूपले दण्ड पाइरहेका छौँ; किनकि हामीले हाम्रो कामको उचित दण्ड पाइरहेका छौँ। तर यी मानिसले त कुनै अनुचित काम गरेका छैनन्।” ४२ त्यसपछि त्यसले भन्यो, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्!” ४३ येशूले त्यसलाई जवाफ दिनुभयो, “म तिमीलाई साँचो भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।” ४४ लगभग दिउँसोको बाह्र बजेको थियो, तब तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो। ४५ किनकि सूर्यले तेज दिन छोड्यो, र मन्दिरको पर्दा दुई भाग भएर च्यात्तियो। ४६ येशूले चर्को सोरमा कराएर भन्‍नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु।” यसो भनेर उहाँले आफ्नो प्राण त्याग्नुभयो। ४७ यी सबै भएको घटना देखेर सेनापतिले परमेश्‍वरको प्रशंसा गर्दै भने, “निश्‍चय नै यिनी धर्मी मानिस थिए।” ४८ जब यो दृश्य हेर्न त्यहाँ जम्मा भएका सबै मानिसहरूले त्यहाँ भएको घटना देखे, तब विलाप गर्दै तिनीहरू आ-आफ्ना छाती पिट्दै फर्के। ४९ तर उहाँलाई चिन्‍नेहरू र स्त्रीहरू, जो गालील प्रदेशबाट उहाँलाई पछ्याउँदै आएका थिए, टाढै उभिएर सबै जना यी घटनाहरू हेरिरहेका थिए। ५० त्यहाँ योसेफ नाम भएका महासभाका एक सदस्य, एक असल र धर्मी मानिस थिए, ५१ जसले तिनीहरूका निर्णय र कार्यमा सहमति जनाएका थिएनन्। तिनी यहूदिया प्रदेशको अरिमथिया सहरका मानिस थिए। तिनले परमेश्‍वरको राज्यको प्रतीक्षा गरिरहेका थिए। ५२ पिलातसकहाँ गएर तिनले येशूको लास मागे। ५३ त्यसपछि तिनले लास तल झारे। त्यसलाई मलमलको लुगाले बेह्रे। अनि चट्टानमा खोपेर बनाइएको एउटा चिहानमा राखे, जसमा कसैलाई पनि राखिएको थिएन। ५४ यो तयारीको दिन थियो, र शब्बाथको दिन सुरु हुनै लागेको थियो। ५५ गालील प्रदेशबाट येशूसँग आएका स्त्रीहरू योसेफका पछि-पछि गएर त्यो चिहान र येशूको लास त्यसमा कसरी राखियो भनी देखे। ५६ त्यसपछि तिनीहरू घर फर्केर सुगन्धित मसलाहरू र अत्तरहरू तयार पारे। तर शब्बाथ दिन व्यवस्थाको आज्ञाबमोजिम तिनीहरूले विश्राम गरे।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International

प्रयोग

अब, कसैलाई यो खण्डलाई आफ्नै शब्दमा दोहोर्याउन लगाउ, मानौं कि तिनीहरूले कहिल्यै नसुनेका साथीलाई भनिरहेछन्। गल्तीले केही छोडेमा वा थपेमा उनीहरूलाई मद्दत गरौं।यदि त्यसो हुन्छ भने हामी सोध्न सक्छौं, "तपाईले त्यो कथामा कहाँ फेला पार्नुहुन्छ?"
यस कथाले हामीलाई परमेश्वर, उहाँको चरित्र र उहाँ के गर्नुहुन्छ भन्ने बारेमा के सिकाउँछ?
यस कथाबाट हामी आफैंलगायत मानिसहरूको बारेमा के सिक्न सक्छौं?
यस कथाबाट परमेश्वरको सत्यातालाई यस हप्ता तपाईं आफ्नो जीवनमा कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?
हामी फेरि भेट्नु अघि यो कथाको सत्यता तपाई कसलाई बताउनुहुन्छ? के तपाइँ अरू कोहि ब्यक्तिहरुलाई चिन्नुहुन्छ जो हामी जस्तै यस एपमा परमेश्वरको वचन बुझ्न चाहन्छन्?
अब हाम्रो बैठक सकिने क्रममा छ, हामी फेरि कहिले भेट्ने र अर्को बैठक कसले सहजीकरण गर्ने भनेर निर्णय गरौ।
हामी तपाईंलाई यो उत्साह दिन चाहनछौ कि तपाईंले गर्छु भनेको कुरा नोट गर्नुहोस, र फेरि भेट्नु अघिका दिनहरुमा यो कथा फेरी दोहोराएर पढ्नुहोस। यदि कसैसँग यो सामग्री छैन भने, सहजकर्ताले कथाको पाठ वा अडियो पठाएर मद्दत गर्न सक्नुहुन्छ। छुट्दै गर्दा, परमेश्वरको सहायताको लागि प्रार्थना गरौं।

0:00

0:00