पुनरुत्थान र आरोहण

संगती

हामीले भेटेको पछिल्लो समयदेखि तपाईसँग के भएको छ भन्ने आधारमा, तपाई के कुराको लागि धन्यवादी हुनुहुन्छ?
यस हप्ता तपाईलाई कुन कुराले तनाव दियो, र ति कुराहरु सुधार गर्नका लागि तपाईलाई के चाहिन्छ?
तपाईंको समुदायका मानिसहरूका आवश्यकताहरू के-के छन्, र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?
पछिल्लो पटक हामीले हेरेको कथा के थियो? हामीले परमेश्वर र मानिसहरूको बारेमा के सिक्यौं?
हाम्रो पछिल्लो बैठकमा, तपाईंले सिकेका कुराहरू लागू गर्ने निर्णय गर्नुभएको थियो। तपाइले के गर्नुभयो र त्यो कस्तो रह्यो?
तपाइले अघिल्लो कथाबाट केहि कुरा कसलाई बताउनु भयो? उनीहरूले कसरी प्रतिक्रिया दिए?
हामीले पछिल्लो पटक धेरै आवश्यकताहरू पहिचान गर्यौं र ती आवश्यकताहरू पूरा गर्ने योजना बनायौं। यो कस्तो भयो?
अब, आउनुहोस्, हामी आजको परमेश्वरको कथा पढौं...

यूहन्‍ना २०: ११-३१

११ तर मरियम रुँदै चिहानबाहिर उभिरहिन्। तिनले रुँदै चिहानतिर निहुरिएर हेरिन्, १२ अनि त्यहाँ सेतो लुगा पहिरेका दुई स्वर्गदूतहरूलाई येशूको मृत शरीर राखिएको ठाउँमा शिर र खुट्टापट्टि एक-एक जनालाई बसिरहेका देखिन्। १३ ती स्वर्गदूतहरूले सोधे, “हे नारी, तिमी किन रुँदैछ्यौ?” तिनले उत्तर दिइन्, “तिनीहरूले मेरा प्रभुलाई लगेका छन्, र तिनीहरूले उहाँलाई कहाँ राखेका छन्, मलाई थाहा छैन।” १४ तब यसो भनेर तिनले पछि फर्केर हेरिन्, र येशूलाई उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्छ भनेर चाहिँ चिनिनन्। १५ “हे नारी! तिमी किन रुँदैछ्यौ?” उहाँले तिनलाई सोध्नुभयो, “तिमी कसलाई खोज्दैछ्यौ?” तिनीसँग बोल्ने व्यक्ति माली पो रहेछ भनी तिनले सोचिन् र भनिन्, “हजुर, तपाईंले उहाँलाई लैजानुभएको छ भने तपाईंले उहाँलाई कहाँ राख्नुभएको छ, मलाई भन्‍नुहोस्, र म उहाँलाई लैजानेछु।” १६ येशूले तिनलाई भन्‍नुभयो, “मरियम!” तिनी उहाँतिर फर्किन् र आरामाईक भाषामा चिच्याएर भनिन्, “रब्बोनी!” (जसको अर्थ हो, गुरुज्यू)। १७ येशूले भन्‍नुभयो, “मलाई नछोऊ, किनकि म अझै पिताकहाँ गएको छैनँ। बरु जाऊ, र मेरा भाइहरूलाई भेटेर ‘म मेरा पिता र तिमीहरूका पिता अर्थात् मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जाँदैछु’ भन्‍ने समाचार भनिदेऊ।” १८ मरियम मग्दलिनी चेलाहरूकहाँ आइन् र भनिन्, “मैले प्रभुलाई देखेँ।” अनि प्रभुले यी कुराहरू तिनलाई भन्‍नुभएको हो भनी तिनले भनिन्। १९ त्यही दिन, हप्‍ताको पहिलो दिनको साँझमा, चेलाहरू; यहूदी अगुवाहरूको डरले ढोकाहरू बन्द गरी भेला भएकै बेलामा येशू आउनुभयो र तिनीहरूका बीचमा उभिएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्!” २० यति भनिसक्नुभएपछि येशूले आफ्ना हातहरू र कोखा तिनीहरूलाई देखाउनुभयो। तब प्रभुलाई देखेर चेलाहरू अत्यन्तै आनन्दित भए। २१ येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्! पिताले मलाई पठाउनुभएझैँ, म पनि तिमीहरूलाई पठाउँदैछु।” २२ त्यसपछि उहाँले तिनीहरूमाथि आफ्नो सास फुकिदिनुभयो र भन्‍नुभयो, “पवित्र आत्मा लेओ। २३ यदि तिमीहरूले कसैको पाप क्षमा गर्‍यौ भने ती क्षमा हुन्छन्, र तिमीहरूले क्षमा गरेनौ भने ती क्षमा हुनेछैनन्।” २४ बाह्र चेलाहरूमध्ये एक जना “दिदुमस” भन्‍ने थोमा येशू आउनुहुँदा तिनीहरूसित थिएनन्। २५ “हामीले प्रभुलाई देख्यौँ” भनेर अरू चेलाहरूले थोमालाई भने। तर तिनले तिनीहरूलाई यसो भने, “उहाँको हातमा काँटीहरूका डोब नदेखेसम्म, र काँटीहरूका डोबमा मेरा औँलाहरू नहालेसम्म, र उहाँको कोखामा मेरो हात नराखेसम्म, म यो कुरा विश्‍वास गर्नेछैनँ।” २६ एक हप्‍तापछि उहाँका चेलाहरू फेरि घरमा भेला हुँदा थोमा पनि तिनीहरूसँग थिए। ढोका बन्द भए तापनि येशू तिनीहरूका बीचमा आउनुभयो, र तिनीहरूका सामु उभिनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्!” २७ त्यसपछि थोमालाई उहाँले भन्‍नुभयो, “तिम्रा औँलाहरू यहाँ राख, र मेरा हातहरू हेर; अनि तिम्रा हात मेरा कोखामा राख। अब उसो अविश्‍वासी नहोऊ, तर विश्‍वासी होऊ।” २८ थोमाले उहाँलाई भने, “हे मेरा प्रभु, हे मेरा परमेश्‍वर!” २९ त्यसपछि येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारण विश्‍वास गरेका छौ; तर मलाई नदेखिकन पनि विश्‍वास गर्नेहरू धन्यका हुन्।” ३० येशूले आफ्ना चेलाहरूका अगि अरू पनि धेरै अलौकिक चिन्हहरू गर्नुभयो, जुन यस पुस्तकमा लेखिएका छैनन्। ३१ तर यो लेखिएको छ, कि तिमीहरूले येशू नै परमेश्‍वरका पुत्र, ख्रीष्‍ट हुनुहुन्छ भनेर विश्‍वास गर। अनि विश्‍वास गरेको कारण तिमीहरूले उहाँको नाममा जीवन प्राप्‍त गर्न सक।

लूका २४: ५०-५२

५० येशूले तिनीहरूलाई यरूशलेमको बाहिर बेथानीको नजिकै लानुभयो। अनि उहाँले आफ्नो हात उचाल्नुभयो र तिनीहरूलाई आशीर्वाद दिनुभयो। ५१ तिनीहरूलाई आशीर्वाद दिइरहनुहुँदा उहाँ तिनीहरूबाट अलग हुनुभयो र माथि स्वर्गमा उठाइलगिनुभयो। ५२ अनि तिनीहरूले उहाँलाई दण्डवत् गरे, र बडो आनन्दसाथ यरूशलेम फर्के।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International

प्रयोग

अब, कसैलाई यो खण्डलाई आफ्नै शब्दमा दोहोर्याउन लगाउ, मानौं कि तिनीहरूले कहिल्यै नसुनेका साथीलाई भनिरहेछन्। गल्तीले केही छोडेमा वा थपेमा उनीहरूलाई मद्दत गरौं।यदि त्यसो हुन्छ भने हामी सोध्न सक्छौं, "तपाईले त्यो कथामा कहाँ फेला पार्नुहुन्छ?"
यस कथाले हामीलाई परमेश्वर, उहाँको चरित्र र उहाँ के गर्नुहुन्छ भन्ने बारेमा के सिकाउँछ?
यस कथाबाट हामी आफैंलगायत मानिसहरूको बारेमा के सिक्न सक्छौं?
यस कथाबाट परमेश्वरको सत्यातालाई यस हप्ता तपाईं आफ्नो जीवनमा कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?
हामी फेरि भेट्नु अघि यो कथाको सत्यता तपाई कसलाई बताउनुहुन्छ? के तपाइँ अरू कोहि ब्यक्तिहरुलाई चिन्नुहुन्छ जो हामी जस्तै यस एपमा परमेश्वरको वचन बुझ्न चाहन्छन्?
अब हाम्रो बैठक सकिने क्रममा छ, हामी फेरि कहिले भेट्ने र अर्को बैठक कसले सहजीकरण गर्ने भनेर निर्णय गरौ।
हामी तपाईंलाई यो उत्साह दिन चाहनछौ कि तपाईंले गर्छु भनेको कुरा नोट गर्नुहोस, र फेरि भेट्नु अघिका दिनहरुमा यो कथा फेरी दोहोराएर पढ्नुहोस। यदि कसैसँग यो सामग्री छैन भने, सहजकर्ताले कथाको पाठ वा अडियो पठाएर मद्दत गर्न सक्नुहुन्छ। छुट्दै गर्दा, परमेश्वरको सहायताको लागि प्रार्थना गरौं।

0:00

0:00