१ यसकारण यदि ख्रीष्टसँगको एकतामा तिमीसँग केही प्रोत्साहन, उहाँको प्रेमबाट केही सान्त्वना, पवित्र आत्मामा केही साझा भाग, केही स्नेह र सहानुभूति छ भने, २ एउटै मनका भएर, एउटै प्रेममा रहेर, एउटै आत्मा र लक्ष्य लिएर मेरो आनन्द पूरा गर। ३ स्वार्थी आकांक्षा वा व्यर्थको अहङ्कारमा केही नगर, तर नम्रतामा एक-अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। ४ तिमीहरू हरेकले केवल आफ्नो मात्र भलाइ नखोज, तर तिमीहरू हरेकले अरूको भलाइलाई पनि विचार गर। ५ तिमीहरूको एक-अर्कासँगको सम्बन्धमा ख्रीष्ट येशूको जस्तै मन होस्: ६ उहाँ स्वभावमा परमेश्वर भएर पनि परमेश्वरको बराबरी हुने कुरालाई पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन; ७ तर आफैँलाई रित्त्याईकन एउटा सेवकको रूप लिएर मानिसको प्रतिरूपमा बनिनुभयो। ८ अनि स्वरूपमा मानिसजस्तै भएर, उहाँले आफैँलाई नम्र तुल्याउनुभयो, र मृत्युसम्मै अर्थात् क्रूसको मृत्युसम्म नै आज्ञाकारी हुनुभयो। ९ त्यसैकारण परमेश्वरले उहाँलाई सर्वोच्च स्थानसम्म उच्च पार्नुभयो, र उहाँलाई एउटा नाम दिनुभयो, जो हरेक नामभन्दा उच्च छ, १० यसकारणले कि स्वर्गमा, पृथ्वीमा र पृथ्वीमुनि भएका, हरेक प्राणीले येशूको नाममा घुँडा टेक्नुपर्छ; ११ अनि परमेश्वर पिताको महिमाको निम्ति, हरेक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00