येशूले नेतृत्वको बारेमा कुरा गर्नुहुन्छ

संगती

हामीले भेटेको पछिल्लो समयदेखि तपाईसँग के भएको छ भन्ने आधारमा, तपाई के कुराको लागि धन्यवादी हुनुहुन्छ?
यस हप्ता तपाईलाई कुन कुराले तनाव दियो, र ति कुराहरु सुधार गर्नका लागि तपाईलाई के चाहिन्छ?
तपाईंको समुदायका मानिसहरूका आवश्यकताहरू के-के छन्, र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?
पछिल्लो पटक हामीले हेरेको कथा के थियो? हामीले परमेश्वर र मानिसहरूको बारेमा के सिक्यौं?
हाम्रो पछिल्लो बैठकमा, तपाईंले सिकेका कुराहरू लागू गर्ने निर्णय गर्नुभएको थियो। तपाइले के गर्नुभयो र त्यो कस्तो रह्यो?
तपाइले अघिल्लो कथाबाट केहि कुरा कसलाई बताउनु भयो? उनीहरूले कसरी प्रतिक्रिया दिए?
हामीले पछिल्लो पटक धेरै आवश्यकताहरू पहिचान गर्यौं र ती आवश्यकताहरू पूरा गर्ने योजना बनायौं। यो कस्तो भयो?
अब, आउनुहोस्, हामी आजको परमेश्वरको कथा पढौं...

मत्ती २३: १-१२

तब येशूले भीडहरू र आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “व्यवस्थाका शिक्षकहरू र फरिसीहरू मोशाको आसनमा बस्छन्। यसकारण तिनीहरूले भनेका हरेक कुरा तिमीहरूले मान र गर, तर तिनीहरूले जे गर्छन्, त्योचाहिँ नगर। किनकि तिनीहरूले जे प्रचार गर्छन्, त्यो अभ्यास गर्दैनन्। तिनीहरूले बोक्नै नसक्ने गह्रौँ भारी बाँधेर मानिसहरूका काँधमा राखिदिन्छन्, तर तिनीहरू आफैँचाहिँ ती उचाल्नलाई आफ्नो एक औँलासमेत चलाउँदैनन्। “तिनीहरूले प्रत्येक कुरा मानिसहरूले देखून् भनेर गर्छन्। तिनीहरूले आफ्ना धर्मशास्त्रका पदहरू लेखेको पत्रलाई चौडा बनाउँछन् र आफ्ना वस्त्रका झुम्काहरू लामा बनाउँछन्। तिनीहरू भोजमा आदरको स्थान मन पराउँछन् र सभाघरहरूमा सबैभन्दा प्रमुख आसनहरू लिन मन पराउँछन्। तिनीहरू बजारहरूमा आदरपूर्ण अभिवादन पाउन र मानिसहरूले तिनीहरूलाई ‘गुरुज्यू’ भनेर बोलाएको मन पराउँछन्। “तर तिमीहरूलाई कसैले ‘गुरुज्यू’ नभनोस्; किनकि तिमीहरूका एउटै मालिक हुनुहुन्छ र तिमीहरू सबै दाजुभाइ हौ। अनि यस पृथ्वीमा कसैलाई ‘पिता’ नभन, किनकि तिमीहरूका एउटै पिता हुनुहुन्छ, जो स्वर्गमा हुनुहुन्छ। १० न त तिमीहरूलाई ‘शिक्षक’ भनियोस्, किनकि तिमीहरूका एउटै मात्र शिक्षक हुनुहुन्छ जो ख्रीष्‍ट हुनुहुन्छ। ११ तिमीहरूमा जो सबैभन्दा उच्‍च छ, त्यो नै तिमीहरूका सेवक हुनेछ। १२ किनकि जसले आफूलाई उच्‍च पार्छ, त्यो नम्र बनाइनेछ; र जसले आफूलाई नम्र बनाउँछ, त्योचाहिँ उच्‍च पारिनेछ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International

प्रयोग

अब, कसैलाई यो खण्डलाई आफ्नै शब्दमा दोहोर्याउन लगाउ, मानौं कि तिनीहरूले कहिल्यै नसुनेका साथीलाई भनिरहेछन्। गल्तीले केही छोडेमा वा थपेमा उनीहरूलाई मद्दत गरौं।यदि त्यसो हुन्छ भने हामी सोध्न सक्छौं, "तपाईले त्यो कथामा कहाँ फेला पार्नुहुन्छ?"
यस कथाले हामीलाई परमेश्वर, उहाँको चरित्र र उहाँ के गर्नुहुन्छ भन्ने बारेमा के सिकाउँछ?
यस कथाबाट हामी आफैंलगायत मानिसहरूको बारेमा के सिक्न सक्छौं?
यस कथाबाट हामी अगुवाहरु बन्ने बारेमा के सिक्छौ?
यस कथाबाट परमेश्वरको सत्यातालाई यस हप्ता तपाईं आफ्नो जीवनमा कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?
हामी फेरि भेट्नु अघि यो कथाको सत्यता तपाई कसलाई बताउनुहुन्छ? के तपाइँ अरू कोहि ब्यक्तिहरुलाई चिन्नुहुन्छ जो हामी जस्तै यस एपमा परमेश्वरको वचन बुझ्न चाहन्छन्?
अब हाम्रो बैठक सकिने क्रममा छ, हामी फेरि कहिले भेट्ने र अर्को बैठक कसले सहजीकरण गर्ने भनेर निर्णय गरौ।
हामी तपाईंलाई यो उत्साह दिन चाहनछौ कि तपाईंले गर्छु भनेको कुरा नोट गर्नुहोस, र फेरि भेट्नु अघिका दिनहरुमा यो कथा फेरी दोहोराएर पढ्नुहोस। यदि कसैसँग यो सामग्री छैन भने, सहजकर्ताले कथाको पाठ वा अडियो पठाएर मद्दत गर्न सक्नुहुन्छ। छुट्दै गर्दा, परमेश्वरको सहायताको लागि प्रार्थना गरौं।

0:00

0:00