१ तिमीहरूमध्येका मण्डलीका प्रधानहरूलाई, म एक सङ्गी प्रधानको नाताले, जो ख्रीष्टको दुःखको साक्षी र प्रकट हुन लागेको महिमामा सहभागीको हैसियतले, तिमीहरूलाई अनुरोध गर्दछु: २ तिमीहरूको हेरचाहमा भएको परमेश्वरको बगालहरूको रखवालाको रूपमा गोठालो बनिदेओ। तिमीहरूले गर्नैपर्छ भनेर होइन, तर परमेश्वरले चाहनुभएझैँ तिमीहरूको इच्छापूर्वक; पैसाको लोभले होइन, तर तिमीहरूको उत्कट इच्छाले सेवा गर। ३ तिमीहरूको जिम्मामा रहेकाहरूमाथि प्रभुत्व जमाएर होइन, तर बगालको निम्ति नमुनाहरू भएर गर। ४ अनि जब प्रधान गोठालो देखा पर्नुहुनेछ, तब तिमीहरूले कहिल्यै नओइलाउने महिमाको मुकुट पाउनेछौ। ५ हे जवानहरू हो, यसरी नै मण्डलीका प्रधानहरूको अधीनमा बस। नम्रताको वस्त्र लगाएर एक-अर्काको सेवा गर; किनकि, “परमेश्वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” ६ यसकारण परमेश्वरको शक्तिशाली हातमुनि आफूलाई नम्र बनाओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। ७ तिमीहरूका सबै चिन्ता उहाँमाथि राख; किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ। ८ संयमी र चनाखो होओ। तिमीहरूको शत्रु शैतान कसलाई भेट्टाऊँ र खाइहालूँ भनी गर्जने सिंहझैँ यताउति घुमिहिँड्छ। ९ विश्वासमा स्थिर भएर त्यसको प्रतिरोध गर; किनकि तिमीहरू जान्दछौ संसारभरि नै तिमीहरूका दाजुभाइहरूले त्यस्तै किसिमको कष्ट भोगिरहेका छन्। १० सबै अनुग्रहका परमेश्वर, जसले तिमीहरूलाई ख्रीष्टमा आफ्नो अनन्त महिमामा बोलाउनुभएको छ; तिमीहरूले केही समयसम्म कष्ट भोगेपछि उहाँले नै तिमीहरूलाई पुनर्स्थापन गर्नुहुनेछ र तिमीहरूलाई बलिया, स्थिर र शक्तिशाली बनाउनुहुनेछ। ११ उहाँलाई नै पराक्रम सदासर्वदा भइरहोस्! आमेन।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00