खराब अगुवाहरूले के गर्छन्?

संगती

हामीले भेटेको पछिल्लो समयदेखि तपाईसँग के भएको छ भन्ने आधारमा, तपाई के कुराको लागि धन्यवादी हुनुहुन्छ?
यस हप्ता तपाईलाई कुन कुराले तनाव दियो, र ति कुराहरु सुधार गर्नका लागि तपाईलाई के चाहिन्छ?
तपाईंको समुदायका मानिसहरूका आवश्यकताहरू के-के छन्, र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?
पछिल्लो पटक हामीले हेरेको कथा के थियो? हामीले परमेश्वर र मानिसहरूको बारेमा के सिक्यौं?
हाम्रो पछिल्लो बैठकमा, तपाईंले सिकेका कुराहरू लागू गर्ने निर्णय गर्नुभएको थियो। तपाइले के गर्नुभयो र त्यो कस्तो रह्यो?
तपाइले अघिल्लो कथाबाट केहि कुरा कसलाई बताउनु भयो? उनीहरूले कसरी प्रतिक्रिया दिए?
हामीले पछिल्लो पटक धेरै आवश्यकताहरू पहिचान गर्यौं र ती आवश्यकताहरू पूरा गर्ने योजना बनायौं। यो कस्तो भयो?
अब, आउनुहोस्, हामी आजको परमेश्वरको कथा पढौं...

इजकिएल ३४: १-१६

याहवेहको यो वचन मकहाँ आयो: “हे मानिसको छोरा, इस्राएलका गोठालाहरूको विरुद्धमा बोल्, र अगमवाणी गर्; अनि तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: धिक्‍कार इस्राएलका गोठालाहरूलाई, जसले आफ्नै मात्र वास्ता गर्छन्! के गोठालाहरूले बगालको हेरचाह गर्नुपर्ने होइन र? तिमीहरू दही खान्छौ, ऊनीको वस्त्र लगाउँछौ र मोटा-मोटा पशुहरू मार्छौ, तर आफ्ना बगालको हेरचाह गर्दैनौ। तिमीहरूले कमजोरहरूलाई बलिया पारेका छैनौ, रोगीहरूलाई निको पारेका छैनौ र घाइतेहरूलाई मलमपट्टी लगाइदिएका छैनौ। तिमीहरूले बाटो बिराएकाहरूलाई फर्काएर ल्याएका छैनौ, न त हराएकाहरूलाई खोजेका छौ। तिमीहरूले तिनीहरूमाथि कठोरता र क्रूरतासाथ शासन गरेका छौ। यसकारण तिनीहरू राम्रोसँग हेरचाह गर्ने गोठाला नभएर तितरबितर भएका छन्; अनि जब तिनीहरू छरपस्ट भए, तब तिनीहरू सबै जङ्गली पशुहरूका निम्ति आहारा बने। मेरा भेडाहरू सबै पहाडहरूतिर र हरेक अग्ला पर्वततिर यताउता भौँतारिरहेका छन्। तिनीहरू सबै पृथ्वीभरि नै छरपस्ट भएका छन्; अनि तिनीहरूलाई कसैले पनि खोजी गरेका र वास्ता गरेका छैनन्। “ ‘यसकारण हे गोठालाहरू हो, याहवेहको वचन सुन: म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ; मेरो बगाल असल गोठालो नभएको कारण लुटिएका छन्, र सबै जङ्गली पशुहरूका निम्ति आहारा भएका छन्; किनकि मेरा गोठालाहरूले मेरा बगालको खोजी गरेनन्, तर मेरो बगालको सट्टा आफ्नै निम्ति मात्र सोचे। यसकारण हे गोठालाहरू हो, याहवेहको वचन सुन: १० प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हेर, म गोठालाहरूको विरुद्धमा छु; अनि म मेरा बगालका निम्ति तिनीहरूलाई जिम्मेवार ठहराउनेछु। म तिनीहरूलाई बगालको हेरचाह गर्नबाट हटाउनेछु, ताकि गोठालाहरू आफैँले मात्र फेरि कहिल्यै खान पाउनेछैनन्। म मेरो बगाललाई तिनीहरूका मुखबाट छुटाउनेछु; अनि अब उसो भेडाहरू गोठालाहरूका भोजन हुनेछैनन्। ११ “ ‘किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म आफैँले मेरा भेडाहरूको खोजी गर्नेछु र तिनीहरूलाई हेरचाह गर्नेछु। १२ जसरी भेडाहरूसँगै हुँदा गोठालाले आफ्ना छरपस्ट भएका भेडाहरूको हेरचाह गर्छ, त्यसरी नै म मेरा भेडाहरूको हेरचाह गर्नेछु। म तिनीहरूलाई बादल लागेको र अन्धकारको दिनमा तिनीहरू छरपस्ट भएका सबै ठाउँहरूबाट बचाउनेछु। १३ म तिनीहरूलाई जातिहरूबाट निकालेर ल्याउनेछु, र विदेशी देशहरूबाट भेला गर्नेछु, अनि म तिनीहरूलाई तिनीहरूका आफ्नै देशमा ल्याउनेछु। म तिनीहरूलाई इस्राएलका पर्वतहरूमा खोलाहरूको किनारमा र देशका सबै बस्तीहरूमा चराउनेछु। १४ म तिनीहरूलाई असल खर्कहरूमा चराउनेछु; अनि इस्राएलका अग्ला पर्वतहरू तिनीहरूका निम्ति खर्क हुनेछन्। त्यहाँ तिनीहरू असल खर्कमा ढल्कनेछन्, र तिनीहरूले इस्राएलका पर्वतहरूमा असल हरियो खर्कमा चर्नेछन्। १५ म आफैँ मेरा भेडाहरूको हेरचाह गर्नेछु, र तिनीहरूलाई विश्राम गर्न दिनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। १६ म हराएकाहरूलाई खोज्नेछु, र बाटो बिराएकाहरूलाई फर्काएर ल्याउनेछु। म घाइतेहरूलाई मलमपट्टी लगाइदिनेछु र कमजोरहरूलाई बलियो बनाउनेछु, तर म मोटाएका र बलिया गोठालाहरूलाई नष्‍ट गर्नेछु। म न्यायपूर्वक बगालको हेरचाह गर्नेछु।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International

प्रयोग

अब, कसैलाई यो खण्डलाई आफ्नै शब्दमा दोहोर्याउन लगाउ, मानौं कि तिनीहरूले कहिल्यै नसुनेका साथीलाई भनिरहेछन्। गल्तीले केही छोडेमा वा थपेमा उनीहरूलाई मद्दत गरौं।यदि त्यसो हुन्छ भने हामी सोध्न सक्छौं, "तपाईले त्यो कथामा कहाँ फेला पार्नुहुन्छ?"
यस कथाले हामीलाई परमेश्वर, उहाँको चरित्र र उहाँ के गर्नुहुन्छ भन्ने बारेमा के सिकाउँछ?
यस कथाबाट हामी आफैंलगायत मानिसहरूको बारेमा के सिक्न सक्छौं?
यस कथाबाट हामी अगुवाहरु बन्ने बारेमा के सिक्छौ?
यस कथाबाट परमेश्वरको सत्यातालाई यस हप्ता तपाईं आफ्नो जीवनमा कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?
हामी फेरि भेट्नु अघि यो कथाको सत्यता तपाई कसलाई बताउनुहुन्छ? के तपाइँ अरू कोहि ब्यक्तिहरुलाई चिन्नुहुन्छ जो हामी जस्तै यस एपमा परमेश्वरको वचन बुझ्न चाहन्छन्?
अब हाम्रो बैठक सकिने क्रममा छ, हामी फेरि कहिले भेट्ने र अर्को बैठक कसले सहजीकरण गर्ने भनेर निर्णय गरौ।
हामी तपाईंलाई यो उत्साह दिन चाहनछौ कि तपाईंले गर्छु भनेको कुरा नोट गर्नुहोस, र फेरि भेट्नु अघिका दिनहरुमा यो कथा फेरी दोहोराएर पढ्नुहोस। यदि कसैसँग यो सामग्री छैन भने, सहजकर्ताले कथाको पाठ वा अडियो पठाएर मद्दत गर्न सक्नुहुन्छ। छुट्दै गर्दा, परमेश्वरको सहायताको लागि प्रार्थना गरौं।

0:00

0:00