१ “म तिमीहरूलाई साँच्चै भन्दछु, जुन मानिस भेडागोठको ढोकाबाट भित्र पस्दैन, तर कुनै अर्कै ठाउँबाट चढेर पस्छ, त्यही नै चोर र डाँकु हो। २ तर ढोकाबाट भित्र पस्ने मानिसचाहिँ आफ्नो भेडाको गोठालो हो। ३ गोठ कुर्नेले उसका निम्ति ढोका खोलिदिन्छ, र भेडाहरूले उसको सोर सुन्छन्। उसले आफ्ना भेडाहरूलाई नाम काढि-काढि बोलाउँछ र तिनीहरूलाई बाहिर लैजान्छ। ४ उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालिसकेपछि, ऊ तिनीहरूका अगि-अगि हिँड्छ, र भेडाहरूले उसलाई पछ्याउँछन्। किनकि तिनीहरूले उसको सोर चिन्छन्। ५ तर तिनीहरूले नचिनेको व्यक्तिलाई कहिल्यै पछ्याउँदैनन्; बरु त्यसदेखि भाग्छन्। किनकि तिनीहरूले नचिनेको व्यक्तिको सोर चिन्दैनन्।” ६ येशूले यो दृष्टान्तको प्रयोग गर्नुभयो, तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा के थियो, सो तिनीहरूले बुझेनन्। ७ त्यसकारण येशूले फेरि भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, भेडाहरूको ढोका म नै हुँ। ८ मभन्दा अगि आउनेहरू सबै चोर र डाँकुहरू थिए, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्। ९ ढोका म नै हुँ, जो मद्वारा भित्र पस्छ, उसले मुक्ति पाउनेछ; भित्र र बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ। १० चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भनेर आएँ। ११ “असल गोठालो म नै हुँ। असल गोठालाले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्दछ। १२ भाडाको मान्छे भेडाहरूको आफ्नै होइनन्। त्यसकारण जब त्यसले ब्वाँसो आउँदैगरेको देख्छ, तब त्यसले भेडाहरूलाई छोड्छ, र भाग्छ। त्यसपछि ब्वाँसोले बगाललाई आक्रमण गर्छ र तितरबितर पारिदिन्छ। १३ त्यो मानिसचाहिँ भाग्छ; किनकि त्यो त भाडाको मानिस हो, त्यसले भेडाहरूका लागि केही वास्ता गर्दैन। १४ “असल गोठालो म नै हुँ; म आफ्ना भेडाहरूलाई चिन्छु र मेरा भेडाहरूले मलाई चिन्छन्। १५ जसरी पिताले मलाई चिन्नुहुन्छ, र म पितालाई चिन्छु, र म मेरो प्राण आफ्ना भेडाहरूका लागि अर्पण गर्छु। १६ मेरा अरू पनि भेडाहरू छन्, जो यस गोठका होइनन्। मैले तिनीहरूलाई पनि ल्याउनु परेको छ। तिनीहरूले पनि मेरो सोर सुन्नेछन्; र एउटै बगाल र एउटै गोठालो हुनेछ। १७ मेरा पिताले मलाई प्रेम गर्नुहुने कारण यही हो, म आफ्नो प्राण, यसलाई फेरि फिर्ता लिनका लागि अर्पण गर्दछु। १८ मेरो प्राण मबाट कसैले लिन सक्दैन, तर म स्वेच्छाले यो अर्पण गर्दछु। मसँग अर्पण गर्ने यो अधिकार पनि छ; यसलाई फेरि लिने अधिकार पनि छ। किनकि यो आज्ञा मैले मेरा पिताबाट प्राप्त गरेको हुँ।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00