१७ मिलेटसबाट पावलले मण्डलीका प्रधानहरूलाई झिकाउन एफिससमा मानिस पठाए। १८ तिनीहरू आइपुगेपछि उनले तिनीहरूलाई भने: “तपाईंहरूसित एशियामा बसेको पहिलो दिनदेखि समस्त समय म कसरी तपाईंहरूसँग रहेँ, त्यो कुरा तपाईंहरूलाई थाहै छ। १९ यहूदीहरूले मेरो विरुद्ध षड्यन्त्रहरू रचेर ठूलो सङ्कटमा पारे तापनि मैले पूर्ण विनम्रतासाथ आँसु बगाउँदै प्रभुको सेवा गरिरहेँ। २० तपाईंहरूलाई थाहै छ, तपाईंहरूको भलाइको निम्ति प्रचार गर्न म कहिल्यै हिच्किचाइनँ। तर सार्वजनिक रूपमा र घर-घरमा गएर शिक्षा दिएँ। २१ यहूदीहरू र ग्रीकहरू पश्चात्तापमा परमेश्वरतिर फर्कनैपर्छ। अनि हाम्रा प्रभु येशूमा तिनीहरूले विश्वास राख्नैपर्छ भनेर मैले घोषणा गरेँ। २२ “अब मचाहिँ पवित्र आत्माको प्रेरणामा यरूशलेममा जाँदैछु; म जान्दिनँ ममाथि त्यहाँ के घट्ने हो। २३ तर मलाई यति थाहा छ, हरेक सहरमा मैले दुःख-कष्ट उठाउनुपर्छ र झ्यालखाना जानुपर्छ भनेर पवित्र आत्माले सतर्क गराउनुहुन्छ। २४ तथापि मेरो आफ्नै जीवनको महत्त्व मलाई छैन। मेरो एउटै लक्ष्य दौड पूरा गर्नु हो, परमेश्वरको अनुग्रहको सुसमाचारको साक्षी दिने सेवकाइ हो, जुन प्रभु येशूद्वारा मलाई सुम्पिइएको छ। २५ “म जान्दछु, तपाईंहरू सबै, जसलाई मैले परमेश्वरको राज्यको प्रचार गर्दैआएको छु, तपाईंहरूले मेरो मुहार फेरि देख्नुहुनेछैन। २६ त्यसैकारण तपाईंहरूसमक्ष म आज गवाही दिन्छु; तपाईंहरू सबैको रगतदेखि म निर्दोष छु। २७ किनकि परमेश्वरको सबै इच्छा तपाईंहरूलाई बताउन मपछि हटिनँ। २८ आफ्नो र सम्पूर्ण बगालको लागि होसियारी हुनुहोस्। पवित्र आत्माले तपाईंहरूलाई बगालको हेरचाहको लागि चुन्नुभएको छ; परमेश्वरको मण्डलीको गोठालो हुनुहोस्, जसलाई उहाँको आफ्नै रगतले किन्नुभएको छ। २९ मलाई यो थाहा छ, मैले छोडेर गएपछि तपाईंहरूका बीचमा जङ्गली ब्वाँसाहरू पस्नेछन्, जसले बगाललाई बाँकी राख्नेछैनन्। ३० तपाईंहरू मध्येबाट नै सत्यलाई बङ्ग्याउने मानिसहरू उठ्नेछन् र चेलाहरूलाई फकाई तिनीहरूका पछि-पछि लगाउनेछन्। ३१ त्यसकारण सावधान हुनुहोस्! सम्झनुहोस्; कसरी तीन वर्षसम्म रातदिन आफ्ना आँसु बगाउँदै तपाईंहरूलाई चेतावनी दिन म कहिल्यै थाकिनँ। ३२ “अब म तपाईंहरूलाई परमेश्वर र उहाँको अनुग्रहको वचनमा सुम्पिदिन्छु, तब यसले तपाईंहरूलाई बलियो तुल्याउनेछ र पवित्र पारिएका सबैका सामु तपाईंहरूलाई उत्तराधिकार दिन सक्दछ। ३३ मैले कसैको सुन, चाँदी वा लुगाफाटाहरूमा लोभ गरिनँ। ३४ तपाईंहरू आफैँ जान्नुहुन्छ, कि मेरा र मसँग हुनेहरूका आवश्यकताहरू मैले आफ्ना यिनै हातहरूद्वारा पूरा गरेको छु। ३५ मैले गरेका हरेक कामबाट तपाईंहरूलाई मैले उदाहरण दिएको छु; अनि कसरी यस किसिमका कडा परिश्रमद्वारा हामीले कमजोरहरूलाई मदत गर्नैपर्दछ। प्रभु येशू आफैँले भन्नुभएका वचनहरूको सम्झना गरौँ: ‘लिनुभन्दा दिनुचाहिँ अझ धन्य हो।’ ” ३६ यति कुरा भनिसकेपछि पावलले घुँडा टेके र सबैसँग प्रार्थना गरे। ३७ उनलाई अँगालो हालेर चुम्बन गर्दै सबै जना धेरै रोए। ३८ तिनीहरूले उनको मुहार फेरि देख्नेछैनन् भन्ने उनको भनाइले तिनीहरूका हृदय छिया-छिया भयो। त्यसपछि तिनीहरूले उनलाई जहाजसम्म पुर्याउन गए।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00