११ यसकारण याद राख, अगिबाटै तिमीहरू, जो जन्मँदै गैरयहूदीहरू हौ, जसलाई आफ्नो “खतना” (जुन शरीरमा मानिसका हातहरूद्वारा गरिन्छन्) भएकाहरूले “बेखतनाका” भनिन्थ्यो। १२ सम्झना राख, त्यस बेला तिमीहरू ख्रीष्टदेखि अलग, इस्राएलका नागरिक हकबाट वञ्चित थियौ; अनि प्रतिज्ञाका करारहरूबाट बिरानो, आशा नभएका र यस संसारमा परमेश्वररहित थियौ। १३ तर तिमीहरू, जो ख्रीष्ट येशूमा बितेको एक समयमा टाढा थियौ, अहिले ख्रीष्टको रगतद्वारा नजिक पारिएका छौ। १४ किनकि उहाँ स्वयम् हाम्रो शान्ति हुनुहुन्छ, जसले यहूदी र गैरयहूदी बीचको विभाजन ल्याउने शत्रुताको पर्खाललाई भत्काइदिनुभएको छ; अनि दुवैलाई एउटै बनाउनुभएको छ। १५ उहाँले आफ्नै शरीरमा व्यवस्थाका आज्ञा र विधिहरू खारेज गर्नुभयो। उहाँ आफैँमा यी दुई समूहबाट एउटा नयाँ मानिस सृष्टि गर्ने र यसरी नै शान्ति स्थापित गर्ने उहाँको उद्देश्य थियो। १६ अनि यही एउटा शरीरमा क्रूसद्वारा दुवै समूहलाई परमेश्वरमा मिलाप गराएर उहाँले तिनीहरूका शत्रुतालाई अन्त्य गर्नुभयो। १७ उहाँले आएर तिमी टाढा भएका र नजिक भएकाहरूलाई शान्तिको सन्देश प्रचार गर्नुभयो। १८ किनकि ख्रीष्टद्वारा हामी दुवैले एउटै आत्मामा पिताकहाँ पुग्न पाएका छौँ। १९ फलस्वरूप तिमीहरू अब विदेशी र अपरिचित होइनौ, तर परमेश्वरका जनहरूसँग सङ्गी नागरिक र उहाँको घरानाका सदस्यहरू भएका छौ। २० त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूका जगमाथि बसालिएको छ; अनि जसको मुख्य ढुङ्गो ख्रीष्ट येशू आफैँ हुनुहुन्छ। २१ उहाँमा नै पूरै भवन ठिकसँग जोडिएको हुन्छ र प्रभुमा एक पवित्र मन्दिर बन्नलाई बढ्दैजान्छ। २२ अनि उहाँमा तिमीहरू पनि आत्माद्वारा वासस्थान बन्नलाई एकसाथ निर्माण भइरहेका छौ, जसमा परमेश्वर आफ्नो आत्माद्वारा बास गर्नुहुन्छ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00