२३ उनीहरू छोडिएपछि पत्रुस र यूहन्ना आफ्ना मानिसहरूकहाँ फर्केर गए। मुख्य पुजारीहरू र प्रधानहरूले तिनीहरूलाई भनेका कुराको बेलीबिस्तार लगाए। २४ तिनीहरूले ती कुरा सुनिसकेपछि सबैले एकैसाथ उच्च सोरमा परमेश्वरसँग प्रार्थना गर्न लागे। तिनीहरूले भने, “हे हाम्रा सार्वभौम प्रभु, तपाईंले स्वर्ग, पृथ्वी, समुद्र र त्यहाँ भएका सबै कुराको सृष्टि गर्नुभयो। २५ तपाईंको सेवक हाम्रा पुर्खा दावीदको मुखबाट पवित्र आत्माद्वारा तपाईंले यस्तो वचन बोल्नुभयो: “ ‘किन मानिसहरू क्रोधित हुन्छन्, र मानिसहरूले व्यर्थमा षड्यन्त्र गर्छन्? २६ प्रभु र उहाँका अभिषिक्त जनका विरुद्धमा पृथ्वीका राजाहरू खडा हुन्छन्; र शासकहरू एकजुट भएर भेला भएका छन्।’ २७ तपाईंले अभिषेक गर्नुभएको तपाईंको पवित्र सेवक येशूका विरुद्ध षड्यन्त्र रच्न हेरोद र पन्तियस पिलातसले साँच्चै नै गैरयहूदीहरू र इस्राएलका बासिन्दाहरूसँग यो सहरमा भेटघाट गरेका थिए। २८ तिनीहरूले त्यही गरे, जुन तपाईंको शक्ति र इच्छाले यही गर्ने भनेर पहिलेबाट नै निर्णय गरिइएको थियो। २९ अब हे प्रभु, तिनीहरूका धम्कीलाई विचार गर्नुहोस्, र तपाईंका सेवकहरूलाई तपाईंका वचनहरू साहससाथ बोल्ने तुल्याउनुहोस्। ३० तपाईंको पवित्र सेवक येशूको नामद्वारा बिरामीहरूलाई पूर्ण निको तुल्याउन अनि अलौकिक चिन्हहरू देखाउन र अद्भुत कार्यहरू गर्न आफ्नो बाहुली अगाडि बढाउनुहोस्।” ३१ तिनीहरूका प्रार्थनापछि तिनीहरू बसिरहेको ठाउँ हल्लियो। अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिएर परमेश्वरको वचन साहससाथ बोल्न थाले।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00