१३ के तिमीहरूमध्ये कोही सङ्कष्टमा छ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाका गीतहरू गाओस्। १४ के तिमीहरूमध्ये कोही बिरामी छ? उसले मण्डलीका प्रधानहरूलाई उसको निम्ति प्रार्थना गरिदिन र प्रभुको नाममा उसलाई तेलले अभिषेक गरिदिन बोलाओस्। १५ अनि विश्वाससाथ गरिएको प्रार्थनाले त्यस बिरामीलाई निको पार्नेछ; र प्रभुले उसलाई उठाउनुहुनेछ। यदि उसले पाप गरेको छ भने उसले क्षमा पाउनेछ। १६ यसकारण एक-अर्कामा तिमीहरूको पाप स्वीकार गर, र तिमीहरू निको हुनलाई एक-अर्काका निम्ति प्रार्थना गर। धर्मी मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। १७ एलिया पनि हामीजस्तै मानिस थिए। तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरे। अनि देशमा साढे तीन वर्षसम्म पानी परेन। १८ तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र पृथ्वीले आफ्ना अन्नहरू उब्जायो। १९ हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूमध्ये कोही सत्यताबाट तर्किगएको छ, र कसैले त्यसलाई फर्काएर ल्याउँछ भने, २० यो याद होस्: जसले एक जना पापीलाई त्यसको गलत बाटोबाट फर्काउँछ, उसले एउटा प्राणलाई आत्मिक मृत्युबाट बचाउनेछ, र असंख्य पापहरू ढाक्नेछ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00