१ यसै समयमा हननिया नामका एक जना मानिसले उनकी पत्नी सफीरासित मिलेर आफ्नो एक टुक्रा जग्गा बेचे। २ आफ्नी पत्नीको पूर्ण जानकारीमा तिनले बिक्रीबाट प्राप्त रकमको केही हिस्सा आफ्ना निम्ति राखे, र बाँकी सबै प्रेरितहरूको चरणमा राखे। ३ त्यसपछि पत्रुसले भने, “हननिया, कसरी शैतानले तिम्रो हृदय भरिदियो र तिमीले पवित्र आत्मासँग झूट बोल्यौ। जग्गा बिक्रीबाट पाएको रकमबाट केही भाग आफ्ना लागि कसरी राख्न सक्यौ? ४ बिक्री गर्नुभन्दा पहिले के यो तिम्रो आफ्नै थिएन र? बिक्री गरिसकेपछि त्यसबाट प्राप्त रकम पनि तिम्रै अधीनमा थिएन र? यस्तो काम गर्ने विचार तिम्रो मनमा कसरी उत्पन्न भयो? तिमीले मानिसहरूसँग होइन, तर परमेश्वरसँग झूट बोलेका छौ।” ५ यो कुरा सुन्नेबित्तिकै, हननिया भुइँमा पछारिए र मरे। यो घटना सुन्ने सबैको मनमा ठूलो डर पस्यो। ६ अनि केही जवानहरू अगाडि आएर त्यस मृत शरीरलाई लुगाले बेह्रे। अनि बाहिर लगेर चिहानमा गाडिदिए। ७ करिब तीन घण्टापछि तिनकी पत्नी त्यस ठाउँमा आइन्। त्यहाँ भएको घटनाका बारेमा तिनलाई केही थाहा थिएन। ८ पत्रुसले तिनलाई सोधे, “मलाई भन, तिमीहरू दुवैले जग्गा बेचेर प्राप्त गरेको रकम त्यत्ति नै हो त?” “हो,” तिनले जवाफ दिइन्, “रकम त्यत्ति नै हो।” ९ पत्रुसले तिनलाई भने, “प्रभुको आत्माको परीक्षा गर्न तिमीहरू दुवै कसरी सहमत भयौ? हेर! तिम्रो पतिलाई चिहानमा गाड्नेहरू बाहिर ढोकामै छन्। अब तिनीहरूले तिमीलाई पनि लिएर जानेछन्।” १० त्यही क्षण पत्रुसको पाउनिर तिनी पछारिएर मरिहालिन्; अनि ती जवानहरू भित्र आए, र तिनलाई मरिसकेकी भेट्टाए। ती जवानहरूले तिनको मृत शरीर लगेर तिनकै पतिको चिहान छेउमा गाडिदिए। ११ सारा मण्डलीमाथि र यी घटनाहरू सुन्ने सबैमाथि ठूलो डर उत्पन्न भयो।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00