३१ “जब मानिसको पुत्र आफ्नो महिमामा सबै दूतहरूसित आउनेछ, तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्नेछ। ३२ सारा राष्ट्रहरू उसको अगि भेला गराइनेछन्; अनि गोठालाले बाख्राहरूबाट भेडाहरू अलग गरेझैँ, उसले मानिसहरूलाई एक-अर्कादेखि अलग गर्ने। ३३ उसले भेडाहरूलाई आफ्नो दाहिनेतिर र बाख्राहरूलाई आफ्नो देब्रेतिर राख्नेछ। ३४ “तब आफ्ना दाहिनेतिरका मानिसहरूलाई राजाले भन्नेछन्, ‘आओ, मेरा पिताका धन्य जनहरू हो, संसारको उत्पत्तिदेखि तिमीहरूका लागि तयार पारिएको राज्यको, तिमीहरू उत्तराधिकारी होओ। ३५ किनकि म भोकाएको थिएँ, र तिमीहरूले मलाई केही खानेकुरा दियौ। म तिर्खाएको थिएँ, र तिमीहरूले मलाई केही पिउने कुरा दियौ। म परदेशी थिएँ, र तिमीहरूले मलाई भित्र स्वागत गर्यौ, ३६ मलाई वस्त्रको खाँचो थियो, र तिमीहरूले मलाई पहिर्यायौ। म बिरामी थिएँ, र तिमीहरू मलाई हेर्न आयौ। म झ्यालखानामा थिएँ, र तिमीहरू मलाई भेट्न आयौ।’ ३७ “तब ती धर्मीहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका देख्यौँ र खुवायौँ, अथवा तिर्खाएका देख्यौँ र पिउन दियौँ? ३८ हामीले तपाईंलाई कहिले परदेशी देख्यौँ, र भित्र स्वागत गर्यौँ अथवा वस्त्रको अभावमा पहिर्यायौँ? ३९ हामीले तपाईंलाई कहिले बिरामी वा झ्यालखानामा देख्यौँ, र तपाईंलाई भेट्न गयौँ?’ ४० “राजाले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले मेरा यी मानिसहरूमध्ये सानोभन्दा सानोलाई जे गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’ ४१ “तब तिनले आफ्ना देब्रेतिरकाहरूलाई भन्नेछन्, ‘हे श्रापितहरू हो, मबाट टाढा भएर शैतान र त्यसका दूतहरूका लागि तयार पारिएको अनन्तको आगोमा जाओ। ४२ किनकि म भोकाएको थिएँ, र तिमीहरूले मलाई केही खान दिएनौ। म तिर्खाएको थिएँ, र तिमीहरूले मलाई केही पिउन दिएनौ। ४३ म परदेशी थिएँ, र तिमीहरूले मलाई भित्र स्वागत गरेनौ। मलाई वस्त्रको खाँचो थियो र तिमीहरूले मलाई पहिर्याएनौ। म बिरामी र झ्यालखानामा थिएँ, र तिमीहरूले मेरो हेरचाह गरेनौ।’ ४४ “तिनीहरूले पनि जवाफ दिनेछन्, ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका अथवा तिर्खाएका, अथवा परदेशी, अथवा वस्त्रको खाँचोमा पर्नुभएको, अथवा बिरामी अथवा झ्यालखानामा देख्यौँ, र तपाईंलाई सहायता दिएनौँ?’ ४५ “उनले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले यी सानाहरूमध्ये एउटालाई जे गरेनौ, त्यो तिमीहरूले मलाई नै गरेनौ।’ ४६ “तब तिनीहरू अनन्तको दण्डमा, तर धर्मी जनहरू अनन्तको जीवनमा प्रवेश गर्नेछन्।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00