सृष्टि

संगती

हामीले भेटेको पछिल्लो समयदेखि तपाईसँग के भएको छ भन्ने आधारमा, तपाई के कुराको लागि धन्यवादी हुनुहुन्छ?
यस हप्ता तपाईलाई कुन कुराले तनाव दियो, र ति कुराहरु सुधार गर्नका लागि तपाईलाई के चाहिन्छ?
तपाईंको समुदायका मानिसहरूका आवश्यकताहरू के-के छन्, र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?
अब, आउनुहोस्, हामी आजको परमेश्वरको कथा पढौं...

उत्पत्ति १: १-२५

आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नुभयो। पृथ्वी आकारविनाको र शून्य थियो। गहिराइको सतहमाथि अन्धकार थियो, र पानीमाथि परमेश्‍वरको आत्मा घुमिरहनुहुन्थ्यो। अनि परमेश्‍वरले आज्ञा गर्नुभयो, “उज्यालो होस्,” तब उज्यालो भयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग गर्नुभयो। परमेश्‍वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” भनेर नाम दिनुभयो। साँझ पर्‍यो र बिहान भयो—पहिलो दिन। अनि परमेश्‍वरले आज्ञा गर्नुभयो, “पानीलाई पानीबाट अलग गर्नलाई पानीको बीचमा एउटा अन्तर होस्।” यसरी परमेश्‍वरले एउटा अन्तर बनाउनुभयो। अनि अन्तरमुनिको पानी र अन्तरमाथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्यस्तै भइहाल्यो। परमेश्‍वरले अन्तरलाई “आकाश” भनेर नाम दिनुभयो। साँझ पर्‍यो र बिहान भयो—दोस्रो दिन। त्यसपछि परमेश्‍वरले आज्ञा गर्नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस्।” तब त्यस्तै भयो। १० परमेश्‍वरले सुक्खा जमिनलाई “भूमि” र जम्मा भएको पानीको भागलाई “समुद्र” भनेर नाम दिनुभयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो। ११ तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “भूमिले वनस्पति, किसिम-किसिमका बिउ हुने बोटबिरुवा र बिउ हुने फल फल्ने रूखहरू पृथ्वीमा उमारोस्।” तब त्यस्तै भयो। १२ भूमिले वनस्पति उमार्‍यो: आ-आफ्नै प्रकारअनुसारका बिउ भएका बिरुवा र रूखहरूले आ-आफ्नै प्रकारअनुसार बिउ भएका फलका रूखहरू उमार्‍यो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो। १३ अनि साँझ पर्‍यो र बिहान भयो—तेस्रो दिन। १४ तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “आकाशको अन्तरमा दिन र रात छुट्याउनलाई ज्योतिहरू होऊन्। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू जनाउने चिन्हहरू होऊन्। १५ अनि पृथ्वीमा प्रकाश दिनलाई आकाशमाथि ज्योतिहरू चम्कून्।” तब त्यस्तै भइहाल्यो। १६ परमेश्‍वरले दुई वटा ठूला ज्योतिहरू बनाउनुभयो—ठूलो ज्योति दिनमा प्रभुत्व गर्नलाई र सानो ज्योति रातमा प्रभुत्व गर्नलाई। उहाँले ताराहरू पनि बनाउनुभयो। १७ परमेश्‍वरले तिनीहरूलाई आकाशको अन्तरमा पृथ्वीमा उज्यालो दिन; १८ अनि दिन र रातमा प्रभुत्व गर्न; अनि उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नलाई राख्नुभयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो। १९ अनि साँझ पर्‍यो र बिहान भयो—चौथो दिन। २० फेरि परमेश्‍वरले आज्ञा गर्नुभयो, “पानी जीवित प्राणीहरूले भरियोस् र पृथ्वीमाथि आकाशको अन्तरमा चाहिँ चराहरू उडून्।” २१ यसरी परमेश्‍वरले समुद्रका आ-आफ्नै प्रकारका विशाल जलजन्तु र पानीमा झुण्ड-झुण्ड बनाएर पौडने तिनीहरूका आ-आफ्नै प्रकारका जीवित प्राणीहरू, र सबै पखेटा भएका चराहरूलाई आ-आफ्नै किसिमको गरी सृष्‍टि गर्नुभयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो। २२ परमेश्‍वरले तिनीहरू सबैलाई आशिष् दिनुभयो र आज्ञा गर्नुभयो, “फल्दै-फुल्दै अनि संख्यामा वृद्धि हुँदै समुद्रको पानीमा भरिँदै जाओ र चराहरू पृथ्वीमा वृद्धि हुँदै जाऊन्।” २३ तब साँझ पर्‍यो र बिहान भयो—पाँचौँ दिन। २४ फेरि परमेश्‍वरले आज्ञा गर्नुभयो, “पृथ्वीले विभिन्‍न जातका जीवित प्राणीहरू, अर्थात् प्रत्येकका आ-आफ्नै किसिमअनुसार: घरपालुवा जनावरहरू, जमिनमा हलचल गर्ने प्राणीहरू र जङ्गली जनावरहरू उत्पन्‍न गरोस्।” तब त्यस्तै भयो। २५ परमेश्‍वरले जङ्गली जनावरहरू, घरपालुवा जनावरहरू र जमिनमा घस्रने सबै प्राणीहरूलाई तिनीहरूका आ-आफ्नै किसिमले बनाउनुभयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International

प्रयोग

अब, कसैलाई यो खण्डलाई आफ्नै शब्दमा दोहोर्याउन लगाउ, मानौं कि तिनीहरूले कहिल्यै नसुनेका साथीलाई भनिरहेछन्। गल्तीले केही छोडेमा वा थपेमा उनीहरूलाई मद्दत गरौं।यदि त्यसो हुन्छ भने हामी सोध्न सक्छौं, "तपाईले त्यो कथामा कहाँ फेला पार्नुहुन्छ?"
यस कथाले हामीलाई परमेश्वर, उहाँको चरित्र र उहाँ के गर्नुहुन्छ भन्ने बारेमा के सिकाउँछ?
यस कथाबाट हामी आफैंलगायत मानिसहरूको बारेमा के सिक्न सक्छौं?
यस कथाबाट परमेश्वरको सत्यातालाई यस हप्ता तपाईं आफ्नो जीवनमा कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?
हामी फेरि भेट्नु अघि यो कथाको सत्यता तपाई कसलाई बताउनुहुन्छ? के तपाइँ अरू कोहि ब्यक्तिहरुलाई चिन्नुहुन्छ जो हामी जस्तै यस एपमा परमेश्वरको वचन बुझ्न चाहन्छन्?
अब हाम्रो बैठक सकिने क्रममा छ, हामी फेरि कहिले भेट्ने र अर्को बैठक कसले सहजीकरण गर्ने भनेर निर्णय गरौ।
हामी तपाईंलाई यो उत्साह दिन चाहनछौ कि तपाईंले गर्छु भनेको कुरा नोट गर्नुहोस, र फेरि भेट्नु अघिका दिनहरुमा यो कथा फेरी दोहोराएर पढ्नुहोस। यदि कसैसँग यो सामग्री छैन भने, सहजकर्ताले कथाको पाठ वा अडियो पठाएर मद्दत गर्न सक्नुहुन्छ। छुट्दै गर्दा, परमेश्वरको सहायताको लागि प्रार्थना गरौं।

0:00

0:00