परमेश्वरले दुष्ट मानवतालाई नष्ट गर्नुहुन्छ

संगती

हामीले भेटेको पछिल्लो समयदेखि तपाईसँग के भएको छ भन्ने आधारमा, तपाई के कुराको लागि धन्यवादी हुनुहुन्छ?
यस हप्ता तपाईलाई कुन कुराले तनाव दियो, र ति कुराहरु सुधार गर्नका लागि तपाईलाई के चाहिन्छ?
तपाईंको समुदायका मानिसहरूका आवश्यकताहरू के-के छन्, र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?
पछिल्लो पटक हामीले हेरेको कथा के थियो? हामीले परमेश्वर र मानिसहरूको बारेमा के सिक्यौं?
हाम्रो पछिल्लो बैठकमा, तपाईंले सिकेका कुराहरू लागू गर्ने निर्णय गर्नुभएको थियो। तपाइले के गर्नुभयो र त्यो कस्तो रह्यो?
तपाइले अघिल्लो कथाबाट केहि कुरा कसलाई बताउनु भयो? उनीहरूले कसरी प्रतिक्रिया दिए?
हामीले पछिल्लो पटक धेरै आवश्यकताहरू पहिचान गर्यौं र ती आवश्यकताहरू पूरा गर्ने योजना बनायौं। यो कस्तो भयो?
अब, आउनुहोस्, हामी आजको परमेश्वरको कथा पढौं...

उत्पत्ति ६: ५-६

याहवेहले पृथ्वीमा मानिसहरूको दुष्‍टता ज्यादा बढेको, र तिनीहरूको हृदयको विचार हरबखत दुष्‍टतातिर मात्रै ढल्केको देख्नुभयो। पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा याहवेहले अफसोस गर्नुभयो; र उहाँको हृदय असाध्यै दुःखित भयो।

उत्पत्ति ६: ९-२२

नोआ र उनको परिवारको विवरण यही हो: नोआ एक धर्मी मानिस थिए। आफ्नो पुस्ताका मानिसहरूको बीचमा तिनी निर्दोष मानिस थिए। तिनी विश्‍वासयोग्ताका साथ परमेश्‍वरसँग रहन्थे। १० नोआका तीन छोराहरू थिए: शेम, हाम र येपेत। ११ परमेश्‍वरको दृष्‍टिमा पृथ्वी भ्रष्‍ट भएको, र हिंसाले भरिएको थियो। १२ परमेश्‍वरले पृथ्वी अति भ्रष्‍ट भएको देख्नुभयो; किनकि पृथ्वीका सबै मानिसहरू आफ्ना चालहरूमा भ्रष्‍ट भएका थिए। १३ यसकारण परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “म सबै मानिसहरूको अन्त्य गर्दैछु; किनकि तिनीहरूको कारण पृथ्वी हिंसाले भरिएको छ। म निश्‍चय नै तिनीहरू र पृथ्वीलाई नष्‍ट गर्दैछु। १४ यसकारण तैँले आफ्नो निम्ति गोपेर काठको एउटा जहाज बनाउनू; अनि त्यसमा कोठाहरू बनाएर त्यसलाई भित्र र बाहिर अलकत्रले लिप्नू। १५ तैँले त्यसलाई यसरी बनाउनू—त्यो जहाज तीन सय क्यूबिट लामो, पचास क्यूबिट चौडा र तीस क्यूबिट अल्गो होस्। १६ त्यसको छानो बनाउनू र छानामुनि वरिपरि एक क्यूबिट खुल्‍ला छोड्नु। जहाजको एक छेउमा एउटा ढोका राख्नू र, तल्‍लो, बीचको र माथिल्‍लो तला भएको बनाउनू। १७ म आकाशमुनि भएका सम्पूर्ण प्राणीहरू, जीवनको सास हुने प्रत्येक प्राणीलाई नाश गर्नका निम्ति पृथ्वीमा जलप्रलय ल्याउनेछु। पृथ्वीमा भएको प्रत्येक चीज नष्‍ट हुनेछ। १८ तर तँसितचाहिँ म मेरो करार स्थापित गर्नेछु; अनि तँ जहाजभित्र पस्‍नेछस्—तँ र तेरा छोराहरू, तेरी पत्नी र तेरा बुहारीहरू पनि। १९ तँसित जीवित रहनलाई आफूसितै भाले र पोथी गरेर सबै जीवित प्राणीहरूका एक-एक जोडीलाई जहाजभित्र लैजानू। २० हरेक प्रकारका चराचुरुङ्गी, हरेक प्रकारका जनावर, र जमिनमा चलहल गर्ने हरेक प्रकारको प्राणीको एक-एक जोडी गरी तँसित जीवित रहनलाई आउनेछन्। २१ तैँले आफ्ना निम्ति र तिनीहरूका निम्ति हरेक प्रकारका खानेकुरा लैजा, र जम्मा पारिराख्।” २२ नोआले परमेश्‍वरले तिनलाई आज्ञा गर्नुभएअनुसार सबै गरे, हो, उनले त्यो गरे।

उत्पत्ति ७: १७-२४

१७ चालीस दिनसम्म पृथ्वीमा जलप्रलय भइरह्‍यो; अनि जब पानी बढ्दैगयो, तब त्यसले जहाजलाई पृथ्वीमाथि उचाल्दै लग्यो। १८ पानी बढ्दै गएर पृथ्वी भरिन थाल्यो, र जहाजचाहिँ पानीको सतहमाथि तैरिन थाल्यो। १९ पृथ्वीमा पानी झन्-झन् बढ्दैगयो, र आकाशमुनि भएका सबै अग्ला-अग्ला पर्वतहरू डुबे। २० पानी बढेर पर्वतहरूभन्दा 15 क्यूबिट माथिसम्म पुग्यो। २१ पृथ्वीमा चलहल गर्ने प्रत्येक जीवित प्राणी—चराचुरुङ्गी, घरपालुवा पशु, जङ्गली जनावर, पृथ्वीमा हुल बाँधेर हिँड्ने हरेक प्रकारका जीवजन्तुहरू र सारा मानिस जातिहरू नष्‍ट भए। २२ ओबानो भूमिमा भएका नाकमा जीवनको सास हुनेहरू सबै थोक नष्‍ट भए। २३ पृथ्वीमा भएका प्रत्येक जीवित प्राणी; हरेक मानिस, पशु, जमिनमा चलहल गर्ने प्राणी र आकाशका चराहरू सबैको पृथ्वीबाट नामनिशानै मेटियो। नोआ र तिनीसित जहाजभित्र भएकाहरू मात्र जीवित रहे। २४ पृथ्वी एक सय पचास दिनसम्म जलमग्न भइरह्‍यो।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International

प्रयोग

अब, कसैलाई यो खण्डलाई आफ्नै शब्दमा दोहोर्याउन लगाउ, मानौं कि तिनीहरूले कहिल्यै नसुनेका साथीलाई भनिरहेछन्। गल्तीले केही छोडेमा वा थपेमा उनीहरूलाई मद्दत गरौं।यदि त्यसो हुन्छ भने हामी सोध्न सक्छौं, "तपाईले त्यो कथामा कहाँ फेला पार्नुहुन्छ?"
यस कथाले हामीलाई परमेश्वर, उहाँको चरित्र र उहाँ के गर्नुहुन्छ भन्ने बारेमा के सिकाउँछ?
यस कथाबाट हामी आफैंलगायत मानिसहरूको बारेमा के सिक्न सक्छौं?
यस कथाबाट परमेश्वरको सत्यातालाई यस हप्ता तपाईं आफ्नो जीवनमा कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?
हामी फेरि भेट्नु अघि यो कथाको सत्यता तपाई कसलाई बताउनुहुन्छ? के तपाइँ अरू कोहि ब्यक्तिहरुलाई चिन्नुहुन्छ जो हामी जस्तै यस एपमा परमेश्वरको वचन बुझ्न चाहन्छन्?
अब हाम्रो बैठक सकिने क्रममा छ, हामी फेरि कहिले भेट्ने र अर्को बैठक कसले सहजीकरण गर्ने भनेर निर्णय गरौ।
हामी तपाईंलाई यो उत्साह दिन चाहनछौ कि तपाईंले गर्छु भनेको कुरा नोट गर्नुहोस, र फेरि भेट्नु अघिका दिनहरुमा यो कथा फेरी दोहोराएर पढ्नुहोस। यदि कसैसँग यो सामग्री छैन भने, सहजकर्ताले कथाको पाठ वा अडियो पठाएर मद्दत गर्न सक्नुहुन्छ। छुट्दै गर्दा, परमेश्वरको सहायताको लागि प्रार्थना गरौं।

0:00

0:00