अब्राहामले परमेश्वरमा भरोसा राखे

संगती

हामीले भेटेको पछिल्लो समयदेखि तपाईसँग के भएको छ भन्ने आधारमा, तपाई के कुराको लागि धन्यवादी हुनुहुन्छ?
यस हप्ता तपाईलाई कुन कुराले तनाव दियो, र ति कुराहरु सुधार गर्नका लागि तपाईलाई के चाहिन्छ?
तपाईंको समुदायका मानिसहरूका आवश्यकताहरू के-के छन्, र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?
पछिल्लो पटक हामीले हेरेको कथा के थियो? हामीले परमेश्वर र मानिसहरूको बारेमा के सिक्यौं?
हाम्रो पछिल्लो बैठकमा, तपाईंले सिकेका कुराहरू लागू गर्ने निर्णय गर्नुभएको थियो। तपाइले के गर्नुभयो र त्यो कस्तो रह्यो?
तपाइले अघिल्लो कथाबाट केहि कुरा कसलाई बताउनु भयो? उनीहरूले कसरी प्रतिक्रिया दिए?
हामीले पछिल्लो पटक धेरै आवश्यकताहरू पहिचान गर्यौं र ती आवश्यकताहरू पूरा गर्ने योजना बनायौं। यो कस्तो भयो?
अब, आउनुहोस्, हामी आजको परमेश्वरको कथा पढौं...

उत्पत्ति १२: १-७

याहवेहले अब्रामलाई भन्‍नुभयो, “आफ्नो देश, आफ्नो कुटुम्ब र तेरा पिताका घरानालाई छोडिदे; अनि त्यस देशमा जा, जुन म तँलाई देखाउनेछु। “म तँलाई एउटा महान् जाति बनाउनेछु; अनि म तँलाई आशिष् दिनेछु; तेरो नामलाई महान् तुल्याउनेछु; अनि तँ आशिष्‌को मूल बन्‍नेछस्। तँलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु; अनि तँलाई श्राप दिनेलाई म श्राप दिनेछु; अनि पृथ्वीका सबै जातिहरूले तँद्वारा नै आशिष् पाउनेछन्।” यसकारण याहवेहले अब्रामलाई भन्‍नुभएझैँ तिनी गए; अनि लोत पनि तिनको साथमा गए। अब्राम हारानबाट निस्कँदा पचहत्तर वर्षका थिए। अब्रामले आफ्नी पत्नी साराई, आफ्नो भतिजो लोत, र तिनीहरूले जम्मा गरेका सबै धनसम्पत्ति र हारानमा प्राप्‍त गरेका मानिसहरूलाई लिए; अनि तिनीहरू सबै कनान देशतिर लागे; अनि तिनीहरू त्यहाँ आइपुगे। अब्राम त्यस देशबाट यात्रा गर्दै मोरेको फलाँटको ठूला रूखहरू भएको ठाउँ शेकेमसम्म आइपुगे। त्यस बेला त्यस देशमा कनानीहरू बस्थे। तब याहवेह अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्‍नुभयो, “यो देश म तेरा सन्तानहरूलाई दिनेछु।” यसकारण तिनले आफूकहाँ देखा पर्नुभएको याहवेहका निम्ति त्यहाँ एउटा वेदी बनाए।

उत्पत्ति १५: १-६

त्यसपछि दर्शनमा याहवेहको यो वचन अब्रामकहाँ आयो: “अब्राम, तँ नडरा; म तेरो ढाल हुँ, र तेरो इनाम अत्यन्त ठूलो हुनेछ।” तर अब्रामले भने, “हे प्रभु याहवेह, तपाईंले मलाई के दिन सक्नुहुन्छ? किनकि म निःसन्तान छु, र मेरो सम्पत्तिको हकदार दमस्कसको एलीएजर नै हुनेछ।” अनि अब्रामले फेरि भने, “तपाईंले मलाई छोराछोरी दिनुभएन; यसकारण मेरै घरानामा जन्मेको सेवक नै मेरो उत्तराधिकारी हुनेछ।” तब याहवेहको वचन फेरि तिनीकहाँ आयो: “यो मानिस तेरो उत्तराधिकारी हुनेछैन; तर तँबाटै जन्मिएको छोरो तेरो उत्तराधिकारी हुनेछ।” उहाँले तिनलाई बाहिर लानुभयो र भन्‍नुभयो, “यदि तैँले गन्‍न सक्छस् भने आकाशतिर हेर्, र ताराहरू गन्।” तब उहाँले तिनलाई भन्‍नुभयो, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्।” अनि अब्रामले याहवेहमाथि विश्‍वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International

प्रयोग

अब, कसैलाई यो खण्डलाई आफ्नै शब्दमा दोहोर्याउन लगाउ, मानौं कि तिनीहरूले कहिल्यै नसुनेका साथीलाई भनिरहेछन्। गल्तीले केही छोडेमा वा थपेमा उनीहरूलाई मद्दत गरौं।यदि त्यसो हुन्छ भने हामी सोध्न सक्छौं, "तपाईले त्यो कथामा कहाँ फेला पार्नुहुन्छ?"
यस कथाले हामीलाई परमेश्वर, उहाँको चरित्र र उहाँ के गर्नुहुन्छ भन्ने बारेमा के सिकाउँछ?
यस कथाबाट हामी आफैंलगायत मानिसहरूको बारेमा के सिक्न सक्छौं?
यस कथाबाट परमेश्वरको सत्यातालाई यस हप्ता तपाईं आफ्नो जीवनमा कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?
हामी फेरि भेट्नु अघि यो कथाको सत्यता तपाई कसलाई बताउनुहुन्छ? के तपाइँ अरू कोहि ब्यक्तिहरुलाई चिन्नुहुन्छ जो हामी जस्तै यस एपमा परमेश्वरको वचन बुझ्न चाहन्छन्?
अब हाम्रो बैठक सकिने क्रममा छ, हामी फेरि कहिले भेट्ने र अर्को बैठक कसले सहजीकरण गर्ने भनेर निर्णय गरौ।
हामी तपाईंलाई यो उत्साह दिन चाहनछौ कि तपाईंले गर्छु भनेको कुरा नोट गर्नुहोस, र फेरि भेट्नु अघिका दिनहरुमा यो कथा फेरी दोहोराएर पढ्नुहोस। यदि कसैसँग यो सामग्री छैन भने, सहजकर्ताले कथाको पाठ वा अडियो पठाएर मद्दत गर्न सक्नुहुन्छ। छुट्दै गर्दा, परमेश्वरको सहायताको लागि प्रार्थना गरौं।

0:00

0:00