अब्राहमले परमेश्वरको आज्ञा माने

संगती

हामीले भेटेको पछिल्लो समयदेखि तपाईसँग के भएको छ भन्ने आधारमा, तपाई के कुराको लागि धन्यवादी हुनुहुन्छ?
यस हप्ता तपाईलाई कुन कुराले तनाव दियो, र ति कुराहरु सुधार गर्नका लागि तपाईलाई के चाहिन्छ?
तपाईंको समुदायका मानिसहरूका आवश्यकताहरू के-के छन्, र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?
पछिल्लो पटक हामीले हेरेको कथा के थियो? हामीले परमेश्वर र मानिसहरूको बारेमा के सिक्यौं?
हाम्रो पछिल्लो बैठकमा, तपाईंले सिकेका कुराहरू लागू गर्ने निर्णय गर्नुभएको थियो। तपाइले के गर्नुभयो र त्यो कस्तो रह्यो?
तपाइले अघिल्लो कथाबाट केहि कुरा कसलाई बताउनु भयो? उनीहरूले कसरी प्रतिक्रिया दिए?
हामीले पछिल्लो पटक धेरै आवश्यकताहरू पहिचान गर्यौं र ती आवश्यकताहरू पूरा गर्ने योजना बनायौं। यो कस्तो भयो?
अब, आउनुहोस्, हामी आजको परमेश्वरको कथा पढौं...

उत्पत्ति २२: १-१९

केही समयपछि परमेश्‍वरले अब्राहामलाई जाँच गर्नुभयो। उहाँले तिनलाई बोलाउनुभयो, “अब्राहाम!” तिनले जवाफ दिए, “हजुर, म यहाँ छु।” तब परमेश्‍वरले भन्‍नुभयो, “तैँले माया गरेको, तेरो एक मात्र छोरा, इसहाकलाई लिएर मोरीयाहको भूमिमा जा। म तँलाई जुन डाँडा देखाउनेछु, त्यहाँ त्यसलाई होमबलिको रूपमा चढा।” भोलिपल्ट बिहानै अब्राहाम उठे, र आफ्नो गधामा काठी कसे। अनि तिनले सेवकहरूमध्ये दुई जनालाई र आफ्नो छोरा इसहाकलाई आफ्नो साथमा लगे। तिनले होमबलिका निम्ति पर्याप्‍त दाउरा काटिसकेपछि परमेश्‍वरले तिनलाई भन्‍नुभएको त्यस ठाउँतिर हिँडे। तेस्रो दिनमा अब्राहामले आँखा उठाएर हेरे, र टाढैबाट त्यस ठाउँलाई देखे। तब अब्राहामले आफ्ना सेवकहरूलाई भने, “म र यो केटो अलिक पर जानेछौँ, र तिमीहरूचाहिँ यहीँ गधासँग बस। हामी आराधना गर्नेछौँ, र तिमीहरूकहाँ फर्केर आउनेछौँ।” अब्राहामले होमबलिको दाउरा उठाए र आफ्नो छोरा इसहाकलाई त्यो बोक्न लगाए; अनि तिनी आफूले चाहिँ आगो र छुरी बोके। ती दुई जब सँगै जाँदैथिए, तब इसहाकले आफ्ना बुबा अब्राहामलाई भने, “बुबा!” अब्राहामले जवाफ दिए, “भन्, मेरो छोरा!” इसहाकले भने, “आगो र दाउरा त यहाँ छन्, तर होमबलिका लागि थुमाचाहिँ कहाँ छ त?” अब्राहामले जवाफ दिए, “हेर् छोरा, परमेश्‍वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ।” त्यसपछि ती दुवै सँगसँगै हिँड्दै अगि बढे। जब तिनीहरू परमेश्‍वरले भन्‍नुभएको त्यस ठाउँमा आइपुगे, तब अब्राहामले त्यहाँ एउटा वेदी बनाए; र त्यसमाथि दाउरा मिलाएर राखे। अनि तिनले आफ्नो छोरा इसहाकलाई बाँधे, र वेदीमा दाउरामाथि राखे। १० तब अब्राहामले आफ्नो छोरालाई मार्न भनी हात छुरीतिर अगि बढाए। ११ तर स्वर्गबाट याहवेहका दूतले तिनलाई यसो भनेर बोलाए, “अब्राहाम! ए अब्राहाम!” तिनले जवाफ दिए, “हजुर, म यहाँ छु।” १२ अनि उनले भने, “त्यस केटामाथि हात नउठा। त्यसलाई केही नगर्। तँ परमेश्‍वरको डर मान्‍ने मानिस रहेछस् भनी अब मलाई थाहा भयो; किनकि आफ्नो एक मात्र छोरालाई बलिदान चढाउनदेखि तँ पछि हटिनस्।” १३ तब त्यही समय अब्राहामले नजिकै झाडीमा सिङ अल्झेर बसेको एउटा साँढ-भेडा देखे। त्यसपछि तिनले त्यस भेडालाई ल्याए; अनि त्यसलाई आफ्नो छोराको सट्टामा होमबलिको रूपमा चढाए। १४ यसकारण अब्राहामले त्यस ठाउँलाई “याहवेह-यिरे” भनेर नाम राखे; अनि आजसम्म “याहवेहको पर्वतमा जुटाइनेछ” भन्‍ने चलन छ। १५ तब याहवेहका दूतले स्वर्गबाट अब्राहामलाई दोस्रोपल्ट बोलाए, १६ र भने, “मैले आफ्नै नाममा शपथ खाएको छु, भनी याहवेह घोषणा गर्नुहुन्छ, कि तैँले यो काम गरेको छस्, र तैँले आफ्नो एक मात्र छोरालाई मबाट नरोकेको कारण, १७ म निश्‍चय तँलाई आशिष् दिनेछु; अनि तेरा सन्तानहरूलाई आकाशका ताराझैँ र समुद्रको किनारका बालुवाजस्तै असंख्य वृद्धि गर्नेछु। तेरा सन्तानहरूले आफ्ना शत्रुहरूका सहरहरू अधिकारमा लिनेछन्; १८ अनि तेरा सन्तानहरूद्वारा पृथ्वीका सबै राष्ट्रहरूले आशिष् पाउनेछन्; किनकि तैँले मेरो आज्ञापालन गरेको छस्।” १९ तब अब्राहाम आफ्ना सेवकहरूकहाँ फर्केर आए; अनि तिनीहरूसँगै बेर्शेबातिर गए, र तिनी बेर्शेबामै बस्‍न थाले।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International

प्रयोग

अब, कसैलाई यो खण्डलाई आफ्नै शब्दमा दोहोर्याउन लगाउ, मानौं कि तिनीहरूले कहिल्यै नसुनेका साथीलाई भनिरहेछन्। गल्तीले केही छोडेमा वा थपेमा उनीहरूलाई मद्दत गरौं।यदि त्यसो हुन्छ भने हामी सोध्न सक्छौं, "तपाईले त्यो कथामा कहाँ फेला पार्नुहुन्छ?"
यस कथाले हामीलाई परमेश्वर, उहाँको चरित्र र उहाँ के गर्नुहुन्छ भन्ने बारेमा के सिकाउँछ?
यस कथाबाट हामी आफैंलगायत मानिसहरूको बारेमा के सिक्न सक्छौं?
यस कथाबाट परमेश्वरको सत्यातालाई यस हप्ता तपाईं आफ्नो जीवनमा कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?
हामी फेरि भेट्नु अघि यो कथाको सत्यता तपाई कसलाई बताउनुहुन्छ? के तपाइँ अरू कोहि ब्यक्तिहरुलाई चिन्नुहुन्छ जो हामी जस्तै यस एपमा परमेश्वरको वचन बुझ्न चाहन्छन्?
अब हाम्रो बैठक सकिने क्रममा छ, हामी फेरि कहिले भेट्ने र अर्को बैठक कसले सहजीकरण गर्ने भनेर निर्णय गरौ।
हामी तपाईंलाई यो उत्साह दिन चाहनछौ कि तपाईंले गर्छु भनेको कुरा नोट गर्नुहोस, र फेरि भेट्नु अघिका दिनहरुमा यो कथा फेरी दोहोराएर पढ्नुहोस। यदि कसैसँग यो सामग्री छैन भने, सहजकर्ताले कथाको पाठ वा अडियो पठाएर मद्दत गर्न सक्नुहुन्छ। छुट्दै गर्दा, परमेश्वरको सहायताको लागि प्रार्थना गरौं।

0:00

0:00