दस आज्ञा र बलिदान

संगती

हामीले भेटेको पछिल्लो समयदेखि तपाईसँग के भएको छ भन्ने आधारमा, तपाई के कुराको लागि धन्यवादी हुनुहुन्छ?
यस हप्ता तपाईलाई कुन कुराले तनाव दियो, र ति कुराहरु सुधार गर्नका लागि तपाईलाई के चाहिन्छ?
तपाईंको समुदायका मानिसहरूका आवश्यकताहरू के-के छन्, र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?
पछिल्लो पटक हामीले हेरेको कथा के थियो? हामीले परमेश्वर र मानिसहरूको बारेमा के सिक्यौं?
हाम्रो पछिल्लो बैठकमा, तपाईंले सिकेका कुराहरू लागू गर्ने निर्णय गर्नुभएको थियो। तपाइले के गर्नुभयो र त्यो कस्तो रह्यो?
तपाइले अघिल्लो कथाबाट केहि कुरा कसलाई बताउनु भयो? उनीहरूले कसरी प्रतिक्रिया दिए?
हामीले पछिल्लो पटक धेरै आवश्यकताहरू पहिचान गर्यौं र ती आवश्यकताहरू पूरा गर्ने योजना बनायौं। यो कस्तो भयो?
अब, आउनुहोस्, हामी आजको परमेश्वरको कथा पढौं...

प्रस्थान २०: १-१७

परमेश्‍वरले यी कुराहरू भन्‍नुभयो: “म नै याहवेह, तेरा परमेश्‍वर हुँ; जसले तँलाई इजिप्टबाट, दासत्वको देशबाट निकालेर ल्याएँ। “मबाहेक तैँले अरू कुनै देवी-देवताहरू नमान्‍नू। आफ्ना निम्ति खोपेर माथि आकाशको, तल पृथ्वीको, र पानी मुनिको कुनै पनि वस्तुको कुनै मूर्ति नबनाउनू। तिनीहरूका सामु ननिहुरनू अथवा तिनीहरूको आराधना नगर्नू; किनकि म, याहवेह तेरा परमेश्‍वर, डाह गर्ने परमेश्‍वर हुँ; मलाई घृणा गर्नेहरूका पापको दण्ड तिनीहरूका छोराछोरीका तेस्रो र चौथो पुस्तामाथि दिन्छु; तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेका हजारौँ पुस्तामाथि प्रेम देखाउँछु। तैँले याहवेह, आफ्ना परमेश्‍वरको नामको गलत प्रयोग नगर्नू; किनकि उहाँको नाम व्यर्थैमा लिनेलाई याहवेहले निर्दोष ठहराउनुहुनेछैन। शब्बाथ दिनलाई पवित्र दिनको रूपमा राखेर त्यसको सम्झना गर्नू। छ दिनसम्म तैँले परिश्रम गरेर आफ्ना सबै काम गर्नू; १० तर सातौँ दिन याहवेह तेरा परमेश्‍वरका निम्ति शब्बाथ दिन हो। यस दिन तैँले केही काम नगर्नू; न त तैँले, न तेरा छोरा वा छोरीले, न तेरा सेवक वा सेविकाले, न तेरा पशुहरूले, न तेरा सहरभित्र भएका परदेशीले, न त कसैले केही काम गर्नू। ११ किनकि छ दिनमा याहवेहले आकाश, पृथ्वी, समुद्र र त्यसमा भएका सबै थोकहरू बनाउनुभयो, तर सातौँ दिनमा उहाँले विश्राम लिनुभयो। यसकारण याहवेहले शब्बाथ दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र तुल्याउनुभयो। १२ तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, ताकि याहवेह तेरा परमेश्‍वरले तँलाई दिनुहुने देशमा तेरो आयु लामो होस्। १३ तैँले मानव हत्या नगर्नू। १४ तैँले व्यभिचार नगर्नू। १५ तैँले चोरी नगर्नू। १६ तैँले आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी नदिनू। १७ तैँले तेरा छिमेकीको घरको लालच नगर्नू। तैँले आफ्नो छिमेकीको पत्नीको लालच नगर्नू, अथवा आफ्नो छिमेकीको सेवक वा सेविका, गोरु वा गधा, अथवा त्यससित भएको कुनै कुराको पनि लालच नगर्नू।”

लेवी ६: १-७

याहवेहले मोशालाई भन्‍नुभयो: “यदि कसैले छिमेकीले सुम्पेको केही सामान त्यसलाई अथवा त्यसको जिम्मामा राखेको कुनै सामान चोरी भएको छ भने वा आफ्नो छिमेकीलाई ठगेर पाप गर्छ भने, र याहवेहप्रति विश्‍वासघाती बन्छ भने, अथवा त्यसले कुनै हराएको सम्पत्ति पाएर त्यस विषयमा झूटो बोल्छ, अथवा झूटो शपथ खान्छ भने, अथवा मानिसहरूले गर्नेजस्ता पाप गर्छ भने; जब त्यसले यसरी पाप गर्छ, र त्यो दोषी भएको आभास गर्छ; त्यसले चोरेको अथवा लुटेको सामान अथवा त्यसलाई सुम्पेको सामान अथवा हराएको सामान त्यसले भेट्टाएको छ, अथवा जुनसुकै कुरा, जसको बारेमा त्यसले झूटो शपथ खाएको छ; त्यसले यी सबै कुरा यिनीहरूमा पाँचौँ भाग थपेर पूरा फर्काइदिनुपर्छ। त्यसले दोषबलि चढाउने दिनमा, त्यो सामान जसको हो, उसैलाई दिनुपर्छ। अनि दण्डस्वरूप त्यसले पुजारीकहाँ आफ्नो दोषबलि याहवेहका लागि आफ्नो बगालबाट निष्खोट र उचित मूल्यको एउटा भेडा ल्याओस्। यसरी पुजारीले याहवेहको सामु त्यसका निम्ति प्रायश्‍चित गर्नेछ। अनि आफूलाई दोषी ठहराउने कामबाट त्यसलाई क्षमा मिल्नेछ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International

प्रयोग

अब, कसैलाई यो खण्डलाई आफ्नै शब्दमा दोहोर्याउन लगाउ, मानौं कि तिनीहरूले कहिल्यै नसुनेका साथीलाई भनिरहेछन्। गल्तीले केही छोडेमा वा थपेमा उनीहरूलाई मद्दत गरौं।यदि त्यसो हुन्छ भने हामी सोध्न सक्छौं, "तपाईले त्यो कथामा कहाँ फेला पार्नुहुन्छ?"
यस कथाले हामीलाई परमेश्वर, उहाँको चरित्र र उहाँ के गर्नुहुन्छ भन्ने बारेमा के सिकाउँछ?
यस कथाबाट हामी आफैंलगायत मानिसहरूको बारेमा के सिक्न सक्छौं?
यस कथाबाट परमेश्वरको सत्यातालाई यस हप्ता तपाईं आफ्नो जीवनमा कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?
हामी फेरि भेट्नु अघि यो कथाको सत्यता तपाई कसलाई बताउनुहुन्छ? के तपाइँ अरू कोहि ब्यक्तिहरुलाई चिन्नुहुन्छ जो हामी जस्तै यस एपमा परमेश्वरको वचन बुझ्न चाहन्छन्?
अब हाम्रो बैठक सकिने क्रममा छ, हामी फेरि कहिले भेट्ने र अर्को बैठक कसले सहजीकरण गर्ने भनेर निर्णय गरौ।
हामी तपाईंलाई यो उत्साह दिन चाहनछौ कि तपाईंले गर्छु भनेको कुरा नोट गर्नुहोस, र फेरि भेट्नु अघिका दिनहरुमा यो कथा फेरी दोहोराएर पढ्नुहोस। यदि कसैसँग यो सामग्री छैन भने, सहजकर्ताले कथाको पाठ वा अडियो पठाएर मद्दत गर्न सक्नुहुन्छ। छुट्दै गर्दा, परमेश्वरको सहायताको लागि प्रार्थना गरौं।

0:00

0:00