१३ हेर, मेरो सेवकले बुद्धिमानीसाथ काम गर्नेछ; ऊ उठाइनेछ र उच्च पारिनेछ, र ऊ अति सम्मानित पारिनेछ। १४ जसरी उसदेखि धेरै जना चकित थिए— उसको अनुहार चिन्नै नसकिने गरी र उसको रूप मानिसको भन्दा पनि कुरूप बनाइएको थियो— १५ त्यसरी नै उसले धेरै जातिहरूलाई पवित्र पार्नेछ; उसको कारण राजाहरूले आफ्ना मुख बन्द गर्नेछन्। किनकि तिनीहरूलाई नभनिएको कुराहरू तिनीहरूले देख्नेछन्; तिनीहरूले नसुनेका कुराहरू तिनीहरूले नै बुझ्नेछन्। १ कसले हाम्रो समाचारलाई विश्वास गरेको छ? र याहवेहको बाहुबल कसलाई प्रकट गरिएको छ? २ ऊ उहाँको सामु कलिलो टुसाजस्तो, र सुक्खा जमिनबाट निस्केको जराजस्तो हुर्कियो। ऊसँग हामीलाई आकर्षित गर्न कुनै सुन्दरता वा शोभा थिएन; उसको अनुहारमा हामीलाई मनपर्ने केही कुरा थिएन। ३ मानिसहरूबाट ऊ घृणित र तिरस्कृत गरियो, दुःखित मानिस, जो कष्टसित परिचित थियो। ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरूले आफ्ना अनुहार लुकाउँछन्; ऊ घृणित थियो, र हामीले उसलाई कुनै मूल्यको ठानेनौँ। ४ निश्चय नै उसले हाम्रा दुःखहरू आफूमाथि लियो; अनि हाम्रा कष्टहरूलाई बोक्यो, तर हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँद्वारा पिटिएको र यातना दिइएको ठान्यौँ। ५ तर ऊ त हाम्रै अधर्महरूका निम्ति छेडियो। ऊ हाम्रा अपराधहरूका निम्ति कुल्चियो; हामीमा शान्ति ल्याउने ताडना उसमाथि पर्यो; अनि उसका चोटहरूले हामी निको भयौँ। ६ हामी सबै भेडाहरूझैँ बरालिएका छौँ; हामी प्रत्येक आ-आफ्नै बाटो लागेका छौँ। याहवेहले उसैमाथि हामी सबैका अपराधहरू राखिदिनुभएको छ। ७ उसलाई सताइयो र उसलाई कष्ट दिइयो, तर पनि उसले आफ्नो मुख खोलेन; उसलाई मारिन लगिएको थुमाझैँ लगियो; ऊन कत्रनेहरूको सामु भेडा शान्त रहेझैँ, उसले आफ्नो मुख खोलेन। ८ अत्याचार र न्यायद्वारा भएर ऊ लगियो। अनि उसका सन्तानहरूको विषयमा कसले बोल्न सक्छ? किनकि ऊ त जीवितहरूको देशबाट अलग गरियो; र मेरा मानिसहरूका अपराधको कारण ऊ पिटियो। ९ उसको चिहान दुष्टहरूसित बनाइयो, तर मृत्युमा उसले धनी व्यक्तिको चिहान पायो; किनकि उसले कुनै अत्याचार गरेको थिएन, न त उसको मुखमा कुनै छल नै थियो। १० तरै पनि याहवेहलाई उसलाई कुल्चिन र कष्ट दिन इच्छा लाग्यो; याहवेहले उसको जीवनलाई दोषबलि बनाउनुभए तापनि उसले आफ्नो सन्तान देख्नेछ, र उसका दिनहरू बढाइनेछन्; अनि उसको हातमा याहवेहको इच्छा पूरा हुनेछ। ११ उसको प्राणको कष्टपछि उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्ट हुनेछ। आफ्नो ज्ञानद्वारा मेरो धर्मी सेवकले धेरैलाई धर्मी ठहराउनेछ; अनि उसले तिनीहरूका अधर्म बोक्नेछ। १२ यसकारण म उसलाई महान्हरूसित एउटा भाग दिनेछु; अनि उसले लुटको माल सामर्थीहरूसित बाँड्नेछ; किनकि उसले आफ्नो जीवन मृत्युमा खन्याइदिएको छ; ऊ अधर्मीहरूसित गनियो। किनकि उसले चाहिँ धेरैको पाप बोक्यो, र अपराधीहरूका निम्ति बिन्ती गर्यो।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00