१ तरै पनि त्यो सङ्कष्टमा परेकाहरूका निम्ति निराशा हुनेछैन। बितेका समयमा उहाँले जबूलून र नप्तालीको मुलुकलाई नम्र तुल्याउनुभयो। तर भविष्यमा उहाँले यर्दनतिरको समुद्र छेउको गैरयहूदीहरूको गालीललाई सम्मानित पार्नुहुनेछ— २ अन्धकारमा जिउनेहरूले एउटा ठूलो ज्योति देखेका छन्; घोर अन्धकारमा बस्नेहरूमाथि ज्योति उदाएको छ। ३ तपाईंले जातिलाई फराकिलो पार्नुभएको छ; अनि तिनीहरूका आनन्द बढाइदिनुभएको छ; मानिसहरूले कटनीमा रमाएझैँ लुटको माल बाँड्दा रमाएझैँ, तिनीहरू तपाईंको सामु रमाउनेछन्। ४ किनकि मिद्यानको पराजयको दिनमा झैँ तपाईंले तिनीहरूलाई भार भएको जुवा, र तिनीहरूका काँधमा परेको बोझ, साथै तिनीहरूलाई सताउनेहरूका लहुरोलाई भाँचिदिनुभएको छ। ५ प्रत्येक योद्धाले लडाइँमा लगाएको जुत्ता, र रगतमा लतपतिएको हरेक वस्त्र आगोमा भस्म हुनेछ। त्यो आगोको निम्ति इन्धन हुनेछ। ६ किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ; हाम्रा निम्ति एउटा पुत्र दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँलाई उदेकको सल्लाहकार, शक्तिशाली परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार भनिनेछ। ७ उहाँको शासन वृद्धि र शान्तिको अन्त्य हुनेछैन। उहाँले दावीदको सिंहासनमाथि र तिनका राज्यमाथि शासन गर्नुहुनेछ। उहाँले राज्यलाई त्यस समयदेखि अनन्तसम्म न्याय र धार्मिकतासँग स्थापित गर्नुहुनेछ र दृढ पार्नुहुनेछ। सेनाहरूका याहवेहको जोशले यसलाई सम्पन्न गर्नेछ।
२६ एलीशिबा गर्भवती भएको छैटौँ महिनामा, परमेश्वरले गालील प्रदेशको नासरत सहरमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो। २७ तिनी एउटी कन्ये केटीकहाँ पठाइए, जसको मगनी दावीदको घरानाका योसेफ भनिने एक जना मानिससँग भएको थियो। ती कन्याको नाम मरियम थियो। २८ स्वर्गदूत तिनीकहाँ गएर भने, “हे उच्च कृपाकी पात्र, अभिवादन! प्रभु तिमीसित हुनुहुन्छ।” २९ तिनको वचन सुनेर मरियम विचलित हुँदै यो कस्तो प्रकारको अभिवादन होला भनी मनमनै विचार गर्न थालिन्। ३० तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ मरियम, तिमीले परमेश्वरबाट कृपा पाएकी छौ। ३१ सुन, तिमी गर्भवती हुनेछौ र एउटा पुत्र जन्माउनेछौ। तिमीले उहाँको नाम येशू राख्नू। ३२ उहाँ महान् हुनुहुनेछ र परमप्रधानका पुत्र कहलाइनुहुनेछ। प्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दावीदको सिंहासन दिनुहुनेछ। ३३ अनि उहाँले याकोबको घरानामाथि सदासर्वदा राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य कहिल्यै हुनेछैन।” ३४ मरियमले स्वर्गदूतलाई प्रश्न गरिन्, “यो कसरी हुन सक्ला? किनकि म त एक कन्या हुँ।” ३५ स्वर्गदूतले जवाफ दिए, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको शक्तिले तिमीलाई छाया पार्नेछ। यसकारण जन्मनुहुने उहाँ, जो पवित्र हुनुहुन्छ, उहाँ परमेश्वरका पुत्र कहलाइनुहुनेछ। ३६ यसै गरी तिम्री नातेदार एलीशिबाले पनि आफ्नो वृद्ध उमेरमा एउटा पुत्र जन्माउनेछिन्; र बाँझी भनिएकी तिनी अहिले गर्भधारणको छैटौँ महिनामा छिन्। ३७ किनकि परमेश्वरका निम्ति कुनै पनि कुरा असम्भव छैन।” ३८ मरियमले भनिन्, “म प्रभुकी सेविका हुँ। मलाई तपाईंको वचनअनुसार होस्।” त्यसपछि स्वर्गदूत तिनीबाट बिदा भए।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00