१ एक दिन येशू कुनै ठाउँमा प्रार्थना गरिरहनुभएको थियो। उहाँले प्रार्थना गरिसक्नुभएपछि उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, यूहन्नाले आफ्ना चेलाहरूलाई सिकाएझैँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्।” २ उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यसो भन: “ ‘हे पिता, तपाईंको नाम पवित्र गरियोस्। तपाईंको राज्य आओस्। ३ हामीलाई हरेक दिन हाम्रो दैनिक भोजन दिनुहोस्। ४ हाम्रा पापहरू क्षमा गरिदिनुहोस्; किनकि हामीले पनि हाम्रो विरुद्धमा पाप गर्ने हरेकलाई क्षमा गर्दछौँ। अनि हामीलाई परीक्षामा नल्याउनुहोस्।’ ” ५ त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “मानौँ तिमीहरूको एक जना मित्र छन्, र तिमी मध्यरातमा तिनीकहाँ गएर भन्छौ, ‘ए मित्र, मलाई तीन वटा रोटी पैँचो देऊ न; ६ किनकि मेरा एक जना मित्र यात्राबाट मकहाँ आएका छन्। तर तिनलाई खुवाउन मसँग केही पनि छैन।’ ७ तब भित्रबाट तिनले जवाफ देलान्, ‘मलाई दुःख नदेऊ। ढोका बन्द भइसकेको छ। मेरा केटाकेटीहरू मसँगै ओछ्यानमा सुतेका छन्। म उठेर तिमीलाई केही दिन सक्दिनँ।’ ८ म तिमीहरूलाई भन्दछु: तिनी एक मित्र भएर पनि तिनले उठेर तिमीलाई रोटी नदेलान्, तापनि तिमीले खुरन्धार मागिरहेको कारणले गर्दा तिनी उठ्नेछन्, र तिमीलाई चाहिएको जति दिनेछन्। ९ “त्यसकारण म तिमीहरूलाई भन्दछु: माग, र तिमीहरूलाई त्यो दिइनेछ; खोज, र तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, र तिमीहरूका निम्ति ढोका उघारिनेछ। १० किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ। जसले खोज्छ, त्यसले भेट्टाउँछ; अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ। ११ “तिमीहरूमध्ये कुनचाहिँ त्यस्तो बुबा होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला? अथवा माछा माग्दा त्यसलाई माछाको सट्टा सर्प देला? १२ अथवा अण्डा माग्दा त्यसलाई बिच्छी देला? १३ यसरी तिमीहरू यति दुष्ट भईकन त आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुनेछ!”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00