१ यसकारण अब ख्रीष्ट येशूमा हुनेहरूका लागि दण्डको कुनै आज्ञा छैन। २ किनकि जीवन दिनुहुने परमेश्वरको आत्माको व्यवस्थाले ख्रीष्ट येशूद्वारा तिमीलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र गरिदिएको छ। ३ किनकि पापमय स्वभावद्वारा कमजोर बनाइएको व्यवस्थाले जे गर्न सकेको थिएन, परमेश्वरले पापको क्षमादान ल्याउनुभयो; उहाँले आफ्नै पुत्रलाई पापमय शरीरको समानतामा हुन पठाउनुभयो। यसरी उहाँले आफ्नै पुत्रको शरीरमा पापलाई दोषी ठहराउनुभयो, ४ ताकि शारीरिक स्वभावअनुसार होइन, तर परमेश्वरको आत्माअनुसार जिउने हामीमा, व्यवस्थाले मागेको धार्मिक आवश्यकता पूर्ण रूपमा पूरा होस्। ५ शारीरिक स्वभावअनुसार जिउनेहरूले उनीहरूका मन पापमय स्वभावले जे इच्छा गर्छ, त्यसैमा लगाउँछन्; तर पवित्र आत्माअनुसार जिउनेहरूले उनीहरूका मन परमेश्वरको आत्माले जे इच्छा गर्नुहुन्छ, त्यसैमा लगाउँछन्। ६ किनकि शारीरिक स्वभावद्वारा शासन गरिएको मन मृत्यु हो, तर परमेश्वरको आत्माद्वारा शासन गरिएको मन जीवन र शान्ति हो। ७ शारीरिक स्वभावद्वारा शासन गरिएको मन परमेश्वरको विरुद्धमा हुन्छ; त्यो परमेश्वरको व्यवस्थाको अधीनमा हुँदैन, न त हुन नै सक्छ। ८ शारीरिक स्वभावद्वारा नियन्त्रित भएकाहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्। ९ यदि वास्तवमा परमेश्वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने तिमीहरू शारीरिक स्वभावद्वारा नियन्त्रित हुँदैनौ, तर आत्माद्वारा नियन्त्रित हुन्छौ। यदि कसैसँग ख्रीष्टको आत्मा छैन भने तिनीहरू ख्रीष्टका हुनै सक्दैनन्। १० तर यदि तिमीहरूसँग ख्रीष्ट हुनुहुन्छ भने तिमीहरूको शरीर पापले गर्दा मरेको भए तापनि धार्मिकताले गर्दा आत्माले तिमीहरूलाई जीवन दिनुहुन्छ। ११ अनि यदि येशूलाई मरेकाबाट पुनर्जीवित पार्नुहुने परमेश्वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने ख्रीष्टलाई मरेकाबाट पुनर्जीवित पार्नुहुनेले नै तिमीहरूका नाशवान् शरीरलाई पनि उहाँकै आत्माद्वारा जीवन दिनुहुनेछ, जुन आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ। १२ यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूका शारीरिक स्वभावले भनेका कुराहरू गर्न तिमीहरू बाध्य छैनौ। १३ किनकि यदि तिमीहरू शारीरिक स्वभावअनुसार जिउँछौ भने तिमीहरू मर्नेछौ; तर यदि आत्माद्वारा तिमीहरूले शरीरका दुष्ट कामलाई मृत तुल्यायौ भने तिमीहरू बाँच्नेछौ। १४ किनकि तिनीहरू, जो परमेश्वरका आत्माले डोर्याइएका छन्, तिनीहरू परमेश्वरका सन्तान हुन्। १५ किनभने तिमीहरूलाई फेरि डरमा डोर्याउने दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ; तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ, जसद्वारा हामी परमेश्वरलाई “अब्बा, पिता” भनी पुकार्दछौँ। १६ परमेश्वरका आत्मा आफैँले हाम्रो आत्मासँग हामी परमेश्वरका सन्तान हौँ भनी गवाही दिनुहुन्छ। १७ यदि हामी उहाँका सन्तान हौँ भने उत्तराधिकारी पनि हौँ। परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग सह उत्तराधिकारी पनि हौँ। यदि वास्तवमा हामी उहाँका दुःखमा सहभागी भयौँ भने उहाँको महिमामा पनि सहभागी हुनेछौँ। १८ म विचार गर्दछु, यस वर्तमानका हाम्रा कष्टहरू हामीमा पछि प्रकट हुने महिमाको तुलनामा केही पनि होइन।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00