२५ हे पतिहरू हो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो र मण्डलीको निम्ति आफ्नो जीवन दिनुभयो; २६ कि उहाँले त्यसलाई वचनद्वारा पानीले धोएर पवित्र पार्न सकून्, २७ र प्रतापी मण्डलीको रूपमा त्यसलाई आफ्नो सामु प्रस्तुत गराऊन्, जसमा कुनै दाग वा चाउरी वा यस्तै अरू कुनै खोट नभएको, तर पवित्र र निष्खोट होस्। २८ यसरी नै पतिहरूले आ-आफ्नी पत्नीहरूलाई आफ्नै शरीरलाईझैँ प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई प्रेम गर्दछ, त्यसले आफैँलाई प्रेम गर्दछ। २९ कसैले आफ्नो शरीरलाई घृणा गर्दैन, तर उसले यसको वास्ता गर्छ र पालनपोषण गर्दछ, जसरी ख्रीष्टले मण्डलीलाई गर्नुहुन्छ। ३० किनकि हामी उहाँका शरीरका अङ्गहरू हौँ। ३१ “यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि ती दुई एउटै शरीर हुनेछन्।” ३२ यो एक अति गहन रहस्य हो, तर मैले ख्रीष्ट र मण्डलीबारे कुरा गरिरहेको छु।
६ तब एउटा ठूलो भीडको जस्तो, पानीको बेगजस्तो आवाज र मेघ गर्जनको आवाजजस्तो यसरी चिच्याएको मैले सुनेँ: “हल्लेलूयाह! किनकि हाम्रा सर्वशक्तिमान् परमप्रभु परमेश्वरले राज्य गर्नुहुन्छ, ७ हामी आनन्द मनाऔँ, खुशी होऔँ, र उहाँलाई महिमा दिऔँ! किनकि थुमाको विवाहको बेला आइपुगेको छ; अनि उहाँकी दुलहीले आफूलाई तयार पारेकी छिन्। ८ तिनलाई चहकिलो र स्वच्छ मलमलको कपडा पहिरनलाई दिइएको थियो।” (मसिनो मलमलको कपडाले सन्तहरूको धार्मिक कार्यलाई जनाउँछ।) ९ अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख: ‘थुमाको विवाहको भोजको निम्तो पाउनेहरू धन्यका हुन्!’ ” अनि तिनले अझ थपेर भने, “यी परमेश्वरका सत्य वचनहरू हुन्।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00