९ म तिनीहरूका लागि प्रार्थना गर्दछु। संसारको लागि म प्रार्थना गर्दिनँ, तर तपाईंले मलाई दिनुभएकाहरूको लागि म प्रार्थना गर्छु; किनकि तिनीहरू तपाईंकै हुन्। १० मेरा सबै थोक तपाईंकै हुन्, र तपाईंका सबै थोक मेरा हुन्; अनि तिनीहरूद्वारा महिमा मकहाँ आएको छ। ११ म यस संसारमा अब रहँदिनँ, तर तिनीहरू यही संसारमा रहन्छन्, र म तपाईंकहाँ आउँदैछु। हे पवित्र पिता, तपाईंको नामको शक्तिले तिनीहरूलाई जोगाइराख्नुहोस्, जुन नाम तपाईंले मलाई दिनुभएको छ, जसद्वारा तिनीहरू पनि हामीजस्तै एक होऊन्। १२ म तिनीहरूसँग हुँदा, तपाईंले मलाई दिनुभएको नामले तिनीहरूलाई जोगाइराखेँ। तिनीहरूमध्ये एउटाबाहेक अरू कोही पनि नष्ट भएनन्। तर धर्मशास्त्र पूरा होस् भनेर एक जनाचाहिँ विनाशको पुत्र नै भयो। १३ “अब म तपाईंकहाँ आउँदैछु। मेरो आनन्दले तिनीहरू पूरा भरपूर होऊन् भनेर मैले यी कुराहरू म संसारमा हुँदा नै भनिदिएको छु। १४ मैले तिनीहरूलाई तपाईंको वचन दिएको छु। संसारले तिनीहरूलाई घृणा गरेको छ; किनकि जसरी म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्। १५ संसारबाट तिनीहरूलाई लैजानुहोस् भनेर म तपाईंसँग बिन्ती गर्दिनँ, तर दुष्टको शक्तिबाट तिनीहरूलाई जोगाइराख्नुहोस् भनी बिन्ती गर्छु। १६ म यस संसारको नभएजस्तै, तिनीहरू पनि अब यस संसारका होइनन्। १७ सत्यताद्वारा तिनीहरूलाई पवित्र गर्नुहोस्; तपाईंको वचन सत्य छ। १८ तपाईंले मलाई संसारमा पठाउनुभएझैँ, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। १९ तिनीहरू पनि साँचो रूपले पवित्र होऊन् भनेर म आफूलाई तिनीहरूका लागि पवित्र गर्दछु। २० “तिनीहरूका निम्ति मात्र म प्रार्थना गर्दिनँ, तर तिनीहरूका साक्षीद्वारा पछि मलाई विश्वास गर्नेहरू सबैका लागि पनि म प्रार्थना गर्दछु। २१ हे पिता, जस्तो म तपाईंमा छु र तपाईं ममा हुनुहुन्छ; त्यसरी नै तिनीहरू पनि हामीमा एक होऊन्। तिनीहरू पनि हामीमा रहन सकून्; ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्वास गरोस्। २२ तिनीहरू पनि हामीजस्तै एक होऊन् भनेर तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई पनि दिएको छु: २३ म तिनीहरूमा अनि तपाईं ममा, तपाईंले मलाई संसारमा पठाउनुभएको हो, र मलाई प्रेम गर्नुभएझैँ तिनीहरूलाई पनि गर्नुहुन्छ भन्ने कुरा संसारलाई थाहा दिन तिनीहरूमा पूरा एकता आओस्। २४ “हे पिता, म इच्छा गर्दछु जो जति तपाईंले मलाई दिनुभएको छ, तिनीहरू पनि म जहाँ छु, मसितै त्यहीँ रहून् र मेरो महिमा तिनीहरूले देखून्, जुन महिमा तपाईंले संसारको सृष्टिभन्दा पहिलेदेखि नै मलाई प्रेम गर्नुभएको हुनाले मलाई दिनुभयो। २५ “हे धार्मिक पिता, संसारले तपाईंलाई नचिने तापनि म तपाईंलाई चिन्दछु। अनि तपाईंले मलाई पठाउनुभएको हो भनेर तिनीहरूले जान्दछन्। २६ मैले तपाईंलाई तिनीहरूकहाँ प्रकट गरेको छु। अनि मलाई तपाईंले गर्नुभएको त्यो गहिरो प्रेम तिनीहरूमा पनि रहोस् र म आफू पनि तिनीहरूमा रहूँ भनेर तिनीहरूकहाँ तपाईंलाई म प्रकट गरिरहनेछु।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00