३६ “त्यसैकारण सबै इस्राएलीहरूले यो कुरा निश्चयताका साथ जानून्, तपाईंहरूले क्रूसमा टाँग्नुभएको यही येशूलाई परमेश्वरले प्रभु र ख्रीष्ट दुवै बनाउनुभएको छ।” ३७ जब जम्मा भएका मानिसहरूले यो कुरा सुने, तब तिनीहरूको हृदय छिया-छिया भयो! अनि तिनीहरूले पत्रुस र अरू प्रेरितहरूलाई सोधे, “ए भाइहरू हो, अब हामीले के गरौँ?” ३८ पत्रुसले जवाफ दिए, “तपाईंहरूले गरेका पाप क्षमाका निम्ति पश्चात्ताप गर्नुहोस्, र येशू ख्रीष्टको नाममा तपाईंहरू हरेकले बप्तिस्मा लिनुहोस्। त्यसपछि तपाईंहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नुहुनेछ। ३९ किनकि परमेश्वरले यो प्रतिज्ञा तपाईंहरूका निम्ति, र तपाईंका सन्तानका निम्ति र टाढा-टाढा बस्नेहरूका निम्ति गर्नुभएको हो। ती सबैका निम्ति, जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ।” ४० अरू पनि धेरै कुराहरू भनेर तिनले उनीहरूलाई चेतावनी दिए; र तिनीहरूलाई अर्ती दिँदै यसो भने, “यो भ्रष्ट पुस्ताबाट आफूलाई बचाउनुहोस्।” ४१ तिनका अर्ती मान्नेहरू सबैले बप्तिस्मा पाए, र त्यस दिन करिब तीन हजार जति मानिसहरू तिनीहरूका संख्यामा थपिए। ४२ तिनीहरूले प्रेरितहरूका शिक्षा, सङ्गति, रोटी भाँच्ने काम र प्रार्थनामा आफूलाई भक्तिसाथ लगाइराखे। ४३ प्रेरितहरूद्वारा धेरै अद्भुत कार्यहरू र अलौकिक चिन्हहरू गरिएको देखेर सबै भयभीत भए। ४४ सबै विश्वासीहरू एकैसाथ बस्थे, र सबै थोक तिनीहरूमा साझा थिए। ४५ आफ्ना सम्पत्ति र मालमत्ताहरू बेचेर जसलाई खाँचो पर्थ्यो, त्यसलाई तिनीहरूले दिन्थे। ४६ तिनीहरू हरेक दिन मन्दिरका आँगनहरूमा एकसाथ भेट्ने गर्थे। अनि घर-घरमा रोटी भाँच्दै एकैसाथ शुद्ध हृदयले आनन्दसाथ खान्थे। ४७ अनि परमेश्वरको प्रशंसा गर्दै, र सबै मानिसहरूको स्नेह पाउँदै बस्थे। तिनीहरूका संख्यामा परमेश्वरले उद्धार पाउनेहरूलाई दिनदिनै थप्दै जानुहुन्थ्यो।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00