१ हे मेरा परमेश्वर, मेरा राजा, म तपाईंलाई उच्च पार्नेछु; म सदासर्वदा तपाईंको नामको प्रशंसा गर्नेछु। २ हरेक दिन म तपाईंको प्रशंसा गर्नेछु, र सदासर्वदा तपाईंको नामको स्तुति गर्नेछु। ३ याहवेह महान् र प्रशंसाको अति योग्य हुनुहुन्छ; उहाँको महानता अपार छ। ४ एक पुस्ताले अर्को पुस्तालाई तपाईंका महान् कामहरूको प्रशंसा गर्नेछन्; तिनीहरूले तपाईंका शक्तिशाली कामहरूको वर्णन गर्नेछन्। ५ तिनीहरूले तपाईंका ऐश्वर्यको महिमामय वैभवको वर्णन गर्नेछन्— र म तपाईंका आश्चर्यपूर्ण कार्यहरूमा मनन गर्नेछु। ६ मानिसहरूले तपाईंका अद्भुत कार्यहरूका शक्तिको विषयमा चर्चा गर्नेछन्— र म तपाईंका महान् कार्यहरूको घोषणा गर्नेछु। ७ तिनीहरूले तपाईंको प्रशस्त भलाइको बारेमा उत्सव मनाउनेछन्, र तपाईंको धार्मिकताबारे आनन्दले जयजयकार गर्नेछन्। ८ याहवेह अनुग्रही र कृपालु हुनुहुन्छ; रिसाउनमा ढिलो र अचुक प्रेममा महान् हुनुहुन्छ। ९ याहवेह सबैमाथि भलो हुनुहुन्छ; र आफ्ना सारा सृष्टिमाथि उहाँले कृपा देखाउनुहुन्छ। १० हे याहवेह, तपाईंले सृष्टि गर्नुभएका सबै थोकले तपाईंको प्रशंसा गर्दछन्; तपाईंका विश्वासयोग्य जनहरूले तपाईंको स्तुति गर्नेछन्। ११ तिनीहरूले तपाईंको राज्यको महिमाको वर्णन गर्नेछन्; र तपाईंको शक्तिको बखान गर्नेछन्, १२ ताकि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू, र तपाईंका राज्यको महिमामय वैभव थाहा पाऊन्। १३ तपाईंको राज्य अनन्तको राज्य हो, र तपाईंको प्रभुत्व पुस्तौँ-पुस्तासम्म रहिरहन्छ। आफ्ना सबै प्रतिज्ञामा याहवेह भरोसायोग्य हुनुहुन्छ, र उहाँले गर्नुहुने सबै थोकप्रति विश्वासयोग्य हुनुहुन्छ। १४ लडेकाहरू सबैलाई याहवेहले सहारा दिनुहुन्छ; दबिएकाहरू सबैलाई उठाउनुहुन्छ। १५ सबैका आँखाहरूले तपाईंकै बाटो हेर्दछन्; अनि तपाईंले तिनीहरूलाई उचित समयमा तिनीहरूको भोजन दिनुहुन्छ। १६ तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ, र हरेक जीवित प्राणीका इच्छाहरूलाई तृप्त पार्नुहुन्छ। १७ याहवेह उहाँका सबै मार्गहरूमा धर्मी हुनुहुन्छ, र उहाँले गर्नुहुने सबै थोकप्रति विश्वासयोग्य हुनुहुन्छ। १८ याहवेहलाई पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ, उहाँलाई सत्यतामा पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ। १९ उहाँको भय मान्नेहरूका इच्छालाई उहाँले पूरा गर्नुहुन्छ; उहाँले तिनीहरूको पुकार सुन्नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ। २० उहाँलाई प्रेम गर्ने सबैलाई याहवेहले रक्षा गर्नुहुन्छ; तर सबै दुष्टहरूलाई उहाँले नाश पार्नुहुनेछ। २१ मेरो मुखले याहवेहको प्रशंसा गर्नेछ; हरेक प्राणीले सदासर्वदा उहाँको पवित्र नामको प्रशंसा गरून्!
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00