१ उहाँले जब भीडलाई देख्नुभयो, तब उहाँ डाँडामा उक्लनुभयो र बस्नुभयो। उहाँका चेलाहरू उहाँ नजिक आए। २ अनि उहाँले तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो: उहाँले भन्नुभयो: ३ “आत्मामा दीन हुनेहरू धन्य हुन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। ४ शोक गर्नेहरू धन्य हुन्, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। ५ नम्र हुनेहरू धन्य हुन्, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। ६ धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू धन्य हुन्, किनभने तिनीहरू तृप्त हुनेछन्। ७ दया गर्नेहरू धन्य हुन्, किनभने तिनीहरूले दया पाउनेछन्। ८ शुद्ध हृदय हुनेहरू धन्य हुन्, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। ९ मेलमिलाप गराउनेहरू धन्य हुन्, किनभने तिनीहरू परमेश्वरका सन्तान कहलाइनेछन्। १० धार्मिकताका निम्ति सतावटमा पर्नेहरू धन्य हुन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। ११ “तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूलाई मेरो कारणले अपमान गर्छन्, खेदो गर्छन् र तिमीहरूको विरुद्धमा झूटो बोलेर सबै किसिमका दुष्ट कुराहरू गर्छन्। १२ तब आनन्द मनाओ र खुशी होओ; किनभने स्वर्गमा तिमीहरूका लागि ठूलो प्रतिफल छ। तिमीहरूभन्दा अगिका अगमवक्ताहरूलाई पनि यसरी नै तिनीहरूले सताएका थिए।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00