१९ “आफ्ना निम्ति पृथ्वीमा धनसम्पत्ति नथुपार, जहाँ किरा र खियाले नष्ट पार्छ, र चोरले फोरेर चोरिदिन्छ। २० तर आफ्ना निम्ति धनसम्पत्ति स्वर्गमा थुपार, जहाँ किरा र खियाले नष्ट पार्दैन; अनि चोरले फोरेर चोर्दैन। २१ किनकि जहाँ तिमीहरूको धनसम्पत्ति हुन्छ, त्यहीँ तिमीहरूको मन पनि हुनेछ। २२ “शरीरको बत्ती आँखा हो। यदि तिमीहरूका आँखा स्वस्थ छ भने तिमीहरूको सम्पूर्ण शरीर ज्योतिले पूर्ण हुन्छ। २३ तर यदि तिमीहरूका आँखा नै अस्वस्थ छन् भने तिमीहरूका सम्पूर्ण शरीर नै अत्यन्त अँध्यारोमा हुन्छ। यसकारण यदि तिमीहरूभित्र भएको उज्यालो नै अँध्यारो छ भने त्यो अँध्यारो कति बढी होला! २४ “कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन। कि त त्यसले एउटालाई घृणा गरेर अर्कोलाई प्रेम गर्नेछ, कि त त्यसले एउटाप्रति भक्त बनेर अर्कालाई तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनसम्पत्ति दुवैको सेवा गर्न सक्दैनौ। २५ “त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनका निम्ति तिमीहरू के खाऔँला वा पिऔँला अथवा आफ्नो शरीरको निम्ति के पहिरौँला भनी चिन्ता नगर। के भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण र लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण होइन र? २६ आकाशका चराहरूलाई हेर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, न त भकारीमा बटुल्दछन्; तरै पनि तिनीहरूलाई तिमीहरूका स्वर्गीय पिताले खुवाउनुहुन्छ। तिमीहरू तिनीहरूभन्दा धेरै मूल्यवान् छैनौ र? २७ के तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो आयुमा एकक्षण थप्न सक्छौ र? २८ “अनि लुगाहरूका विषयमा किन फिक्री गर्दछौ? मैदानका लिली फूलहरूलाई हेर, तिनीहरू कसरी बढ्दछन्। तिनीहरूले परिश्रम गर्दैनन्, र धागो पनि कात्दैनन्, २९ तर पनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्। ३० यसकारण आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, हे अल्पविश्वासीहरू हो, के उहाँले तिमीहरूलाई अझ बढी पहिराउनुहुनेछैन र? ३१ यसकारण ‘हामी के खाऔँला?’ अथवा ‘हामी के पिऔँला?’ अथवा ‘हामी के लगाऔँला?’ भनी चिन्ता नगर। ३२ किनकि गैरयहूदीहरू यी कुराहरूका पछि लाग्दछन्। तिमीहरूका स्वर्गीय पिताले तिमीहरूलाई यी सबै कुराहरू चाहिन्छ भनी जान्नुहुन्छ। ३३ तर पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्। ३४ यसकारण भोलिको निम्ति चिन्ता नगर; किनकि भोलिको चिन्ता भोलिले नै गर्छ। आजको कष्ट आजको निम्ति पर्याप्त छ।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00