चेलाहरु येशूको अधिकारसाथ जान्छन्

संगती

हामीले भेटेको पछिल्लो समयदेखि तपाईसँग के भएको छ भन्ने आधारमा, तपाई के कुराको लागि धन्यवादी हुनुहुन्छ?
यस हप्ता तपाईलाई कुन कुराले तनाव दियो, र ति कुराहरु सुधार गर्नका लागि तपाईलाई के चाहिन्छ?
तपाईंको समुदायका मानिसहरूका आवश्यकताहरू के-के छन्, र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?
पछिल्लो पटक हामीले हेरेको कथा के थियो? हामीले परमेश्वर र मानिसहरूको बारेमा के सिक्यौं?
हाम्रो पछिल्लो बैठकमा, तपाईंले सिकेका कुराहरू लागू गर्ने निर्णय गर्नुभएको थियो। तपाइले के गर्नुभयो र त्यो कस्तो रह्यो?
तपाइले अघिल्लो कथाबाट केहि कुरा कसलाई बताउनु भयो? उनीहरूले कसरी प्रतिक्रिया दिए?
हामीले पछिल्लो पटक धेरै आवश्यकताहरू पहिचान गर्यौं र ती आवश्यकताहरू पूरा गर्ने योजना बनायौं। यो कस्तो भयो?
अब, आउनुहोस्, हामी आजको परमेश्वरको कथा पढौं...

प्रेरित ३: १-१०

एक दिन पत्रुस र यूहन्‍ना दिउँसोको तीन बजेतिर प्रार्थनाका निम्ति मन्दिरतिर गइरहेका थिए। त्यहाँ जन्मैदेखिको एउटा लङ्गडो मानिसलाई बोकेर मन्दिरको सुन्दर भनिने ढोकातिर लगिँदैथियो। त्यसलाई सधैँ नै त्यस ढोकामा त्यसरी नै लगेर राखिन्थ्यो, त्यहीँ बसेर त्यसले मन्दिर जाने मानिसहरूसँग भीख माग्ने गर्दथ्यो। जब लङ्गडोले पत्रुस र यूहन्‍नालाई मन्दिरभित्र पस्‍न लागेको देख्यो, तब त्यसले तिनीहरूसँग पैसा माग्यो। पत्रुस र यूहन्‍नाले त्यसलाई नियालेर हेरे, तब पत्रुसले भने, “हामीतिर हेर!” त्यसपछि उनीहरूबाट केही पाउने आशा राख्दै त्यसले ध्यान दिएर उनीहरूलाई हेर्‍यो। पत्रुसले भने, “मसँग सुन वा चाँदी छैन। तर जे मसँग छ, त्यो तिमीलाई दिन्छु। नासरतका येशू ख्रीष्‍टको नाममा तिमी हिँडिहाल।” यति भनेर आफ्नो दाहिने हातले त्यस लङ्गडोलाई समातेर उनले उठाउन थाले। तब त्यस मानिसको खुट्टा र गोलीगाँठाहरूमा तुरुन्तै बल आयो। त्यो आफ्नो खुट्टाका बलले बुरुक्‍क उफ्रियो र हिँड्न थाल्यो। त्यसपछि तिनीहरूसँगै त्यो मानिस हिँड्दै, उफ्रँदै र परमेश्‍वरको प्रशंसा गर्दै मन्दिरका आँगनहरूमा गयो। जब सबै मानिसहरूले त्यसलाई हिँडिरहेको र परमेश्‍वरको प्रशंसा गरिरहेको देखे, १० मन्दिरको सुन्दर भनिने मूलढोकामा बसेर सधैँ भीख माग्ने मानिस त्यही नै हो भनी तिनीहरूले चिने। तब त्यो लङ्गडो राम्रोसँग हिँड्न सकेको देखेर तिनीहरू आश्‍चर्यचकित भए, र अचम्म माने।

प्रेरित १३: ६-१२

तिनीहरू सम्पूर्ण टापुको यात्रा गर्दै पाफोस आइपुगे। त्यहाँ तिनीहरूले बार-येशू नामको एक जना यहूदी जादुगर र झूटा अगमवक्तालाई भेटे। त्यो एउटा प्रान्तको “सर्गियस पौलुस” नामको शासकको परिचारक थियो। ती राज्यपाल एक समझदार मानिस थिए। तिनले बारनाबास र शाऊललाई बोलाए; किनकि तिनी परमेश्‍वरको वचन सुन्‍न चाहन्थे। तर एलुमास जादुगरले (उसको नामको अर्थ टुनामुना गर्ने हो) तिनीहरूको विरोध गर्‍यो। अनि ती राज्यपाललाई तिनको विश्‍वासबाट फर्काउने प्रयत्न गर्‍यो। त्यसपछि शाऊल, जसलाई पावल पनि भनिन्छ, तिनी पवित्र आत्माले भरिएर एलुमासको आँखामा एक टकले हेर्दै भने, १० “ए शैतानको बच्‍चा, हरेक सही कुराको शत्रु, सबै किसिमका छल र कपटले भरिपूर्ण, प्रभुका असल र ठिक बाटाहरू भ्रष्‍ट पार्न के तँ कहिल्यै छोड्दैनस्? ११ अब प्रभुको शक्ति तेरो विरुद्धमा छ। तँ आँखा नेदेख्ने हुनेछस् र आउँदो केही समयका निम्ति सूर्यको प्रकाश देख्न सक्नेछैनस्।” तुरुन्तै कुइरो र अन्धकारले उसलाई ढाक्यो। अनि कसैले आफ्नो हात समाई डोर्‍याइदेला कि भनी त्यो यताउति गर्न थाल्यो। १२ त्यहाँ घटेको घटना ती राज्यपालले देखेपछि उनले विश्‍वास गरे। किनकि प्रभुका बारेमा दिइएको शिक्षाबाट तिनी अचम्म परेका थिए।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International

प्रयोग

अब, कसैलाई यो खण्डलाई आफ्नै शब्दमा दोहोर्याउन लगाउ, मानौं कि तिनीहरूले कहिल्यै नसुनेका साथीलाई भनिरहेछन्। गल्तीले केही छोडेमा वा थपेमा उनीहरूलाई मद्दत गरौं।यदि त्यसो हुन्छ भने हामी सोध्न सक्छौं, "तपाईले त्यो कथामा कहाँ फेला पार्नुहुन्छ?"
यस कथाले हामीलाई परमेश्वर, उहाँको चरित्र र उहाँ के गर्नुहुन्छ भन्ने बारेमा के सिकाउँछ?
यस कथाबाट हामी आफैंलगायत मानिसहरूको बारेमा के सिक्न सक्छौं?
यस कथाबाट हामी चेलाहरु बन्ने बारेमा के सिक्छौं?
यस कथाबाट परमेश्वरको सत्यातालाई यस हप्ता तपाईं आफ्नो जीवनमा कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?
हामी फेरि भेट्नु अघि यो कथाको सत्यता तपाई कसलाई बताउनुहुन्छ? के तपाइँ अरू कोहि ब्यक्तिहरुलाई चिन्नुहुन्छ जो हामी जस्तै यस एपमा परमेश्वरको वचन बुझ्न चाहन्छन्?
अब हाम्रो बैठक सकिने क्रममा छ, हामी फेरि कहिले भेट्ने र अर्को बैठक कसले सहजीकरण गर्ने भनेर निर्णय गरौ।
हामी तपाईंलाई यो उत्साह दिन चाहनछौ कि तपाईंले गर्छु भनेको कुरा नोट गर्नुहोस, र फेरि भेट्नु अघिका दिनहरुमा यो कथा फेरी दोहोराएर पढ्नुहोस। यदि कसैसँग यो सामग्री छैन भने, सहजकर्ताले कथाको पाठ वा अडियो पठाएर मद्दत गर्न सक्नुहुन्छ। छुट्दै गर्दा, परमेश्वरको सहायताको लागि प्रार्थना गरौं।

0:00

0:00