१० अन्त्यमा प्रभुमा र उहाँको शक्तिशाली सामर्थ्यमा बलिया होओ। ११ परमेश्वरका सारा हातहतियार धारण गर, ताकि तिमीहरू शैतानका युक्तिहरूको विरुद्धमा खडा हुन सक। १२ किनकि हाम्रो लडाइँ मानिसहरूका विरुद्धमा होइन, तर शासकहरूका विरुद्ध, अधिकारीहरूका विरुद्ध, संसारका अन्धकारका शक्तिहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा दुष्टताको आत्मिकी सेनाहरूका विरुद्ध हो। १३ यसकारण परमेश्वरका सारा हातहतियार धारण गर; ताकि खराब समयमा आफ्ना शत्रुलाई प्रतिकार गर्न सक। तब युद्धपछि पनि तिमी स्थिर भई खडा हुन सक्नेछौ। १४ यसकारण कम्मर सत्यताको पेटीले बाँध, र धार्मिकताको छाती-पाता लगाएर खडा होओ; १५ अनि खुट्टामा शान्तिको सुसमाचारको तयारीको जुत्ता लगाओ। १६ यी सबै कुराबाहेक विश्वासको ढाल हातमा उठाओ, जसबाट तिमीले शैतानका सबै अग्निवाणहरू निभाउन सक्नेछौ। १७ शिरमा मुक्तिको टोप लगाओ र हातमा आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो। १८ अनि सबै अवस्थाहरूमा, सबै प्रकारका निवेदन र अन्तर्बिन्तीसहित आत्मामा प्रार्थना गरिबस। यी कुरालाई मनमा राखी सचेत भएर सबै प्रभुका सन्तहरूका निम्ति सधैँ प्रार्थना गर। १९ मेरा निम्ति पनि प्रार्थना गर, कि जब म बोल्छु, तब सुसमाचारको रहस्य साहससँग भन्न मलाई शब्दहरू दिइयोस्, २० जसको लागि म साङ्लाहरूमा बाँधिएको एक राजदूत हुँ। मैले जसरी बोल्नुपर्ने हो, त्यसरी नै म विनाडर घोषणा गर्न सकूँ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00