१४ “फेरि, स्वर्गको राज्य यात्रामा जान लागेको त्यो मानिसजस्तो हो, जसले आफ्ना सेवकहरूलाई बोलाएर तिनीहरूलाई आफ्ना सम्पत्तिको जिम्मा दिए। १५ तिनीहरूका योग्यताअनुसार तिनले एउटालाई पाँच झोला सुनका सिक्का, अर्कोलाई दुई झोला सुनका सिक्का र अर्कोलाई एक झोला सुनका सिक्का दिए। त्यसपछि तिनी आफ्ना यात्रामा लागे। १६ पाँच झोला सुनका सिक्का पाउने मानिस तुरुन्तै गएर आफ्नो पैसा काममा लगायो र अरू पाँच झोला सुन कमायो। १७ दुई झोला सुनका सिक्का पाउनेले पनि त्यसै गरी अरू दुई झोला कमायो। १८ तर एक झोला सुनका सिक्का पाउने मानिस गयो, र भुइँमा खनेर उसका मालिकको धनसम्पत्ति लुकायो। १९ “धेरै समय बितेपछि ती सेवकहरूका मालिक फर्किआए, र तिनीहरूसित हिसाब मागे। २० पाँच झोला सुनका सिक्का पाउने मानिसले अरू पाँच ल्यायो। उसले भन्यो, ‘हजुर, तपाईंले मलाई पाँच झोला सुनका सिक्का सुम्पनुभएको थियो। हेर्नुहोस्, मैले अरू पाँच झोला सुन कमाएँ।’ २१ “त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्वासी सेवक! तँ थोरै कुरामा विश्वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको खुशीमा सहभागी बन्!’ २२ “दुई झोला सुनका सिक्का पाउने मानिस पनि आयो। त्यसले भन्यो, ‘हजुर, तपाईंले मलाई दुई झोला सुनका सिक्का सुम्पनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई झोला सुन कमाएँ।’ २३ “त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्वासी सेवक! तँ थोरै कुरामा विश्वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको खुशीमा सहभागी बन्!’ २४ “त्यसपछि एक झोला सुनको सिक्का पाउने मानिस आयो। त्यसले भन्यो ‘मालिक, म जान्दछु कि तपाईं नरोपेको ठाउँमा कटनी गर्नुहुने र बिउ नछरेको ठाउँमा बटुल्नुहुने कठोर मानिस हुनुहुन्छ। २५ तसर्थ म डराएँ, र गएर तपाईंको सुन भुइँमा लुकाएर राखेँ। हेर्नुहोस्, तपाईंको त्यो सुन यहाँ छ।’ २६ “त्यसका मालिकले जवाफ दिए, ‘तँ दुष्ट र अल्छे सेवक! मैले नछरेको ठाउँमा म कटनी गर्छु, र बिउ नरोपेको ठाउँमा बटुल्छु भन्ने तँलाई थाहा थियो? २७ त्यसो भए, तैँले मेरो धनसम्पत्ति साहुकहाँ राख्नु पर्नेथियो, र म फर्केर आउँदा मैले त्यो ब्याजसमेत पाउनेथिएँ। २८ “ ‘त्यसबाट त्यो सुनको सिक्काको झोला लेओ, र जससित दश झोला छ, त्यसलाई देओ। २९ किनकि जससित छ, त्यसलाई अरू दिइनेछ, र त्यससित प्रशस्त हुनेछ। जससित छैन, त्यससित भएको पनि खोसिनेछ। ३० अनि त्यस बेकामे सेवकलाई बाहिरको अन्धकारमा फ्याँकिदेओ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।’
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00