अगुवाहरू विभिन्न संस्कृतिहरूमा सञ्चार गर्छन्

संगती

हामीले भेटेको पछिल्लो समयदेखि तपाईसँग के भएको छ भन्ने आधारमा, तपाई के कुराको लागि धन्यवादी हुनुहुन्छ?
यस हप्ता तपाईलाई कुन कुराले तनाव दियो, र ति कुराहरु सुधार गर्नका लागि तपाईलाई के चाहिन्छ?
तपाईंको समुदायका मानिसहरूका आवश्यकताहरू के-के छन्, र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?
पछिल्लो पटक हामीले हेरेको कथा के थियो? हामीले परमेश्वर र मानिसहरूको बारेमा के सिक्यौं?
हाम्रो पछिल्लो बैठकमा, तपाईंले सिकेका कुराहरू लागू गर्ने निर्णय गर्नुभएको थियो। तपाइले के गर्नुभयो र त्यो कस्तो रह्यो?
तपाइले अघिल्लो कथाबाट केहि कुरा कसलाई बताउनु भयो? उनीहरूले कसरी प्रतिक्रिया दिए?
हामीले पछिल्लो पटक धेरै आवश्यकताहरू पहिचान गर्यौं र ती आवश्यकताहरू पूरा गर्ने योजना बनायौं। यो कस्तो भयो?
अब, आउनुहोस्, हामी आजको परमेश्वरको कथा पढौं...

प्रेरित १७: १६-३४

१६ जुन बेला पावल एथेन्समा सिलास र तिमोथीलाई पर्खिरहेका थिए, त्यो सहर धेरै मूर्तिहरूले भरिएको देखेर तिनी असाध्यै दुःखित भए। १७ त्यसैले तिनी सभाघरमा यहूदीहरू र परमेश्‍वरको भय मान्‍ने ग्रीकहरूसँग त्यसै गरी बजारमा भेट्ने मानिसहरूसँग दिनहुँ तर्क गर्दथे। १८ इपिक्युरी र स्तोइकी दार्शनिकहरूका समूहले तिनीसँग वाद-विवाद गर्न थाले। तीमध्ये केहीले सोधे, “यस बकबकेले के भन्‍न खोज्दैछ?” अरू केहीले यसो भने, “यो मानिस अन्य कुनै परदेशी देवताको प्रचारकजस्तो देखिन्छ।” किनकि पावलले येशूको सुसमाचार र पुनरुत्थानको शिक्षा दिएकाले तिनीहरूले यसो भनेका थिए। १९ त्यसपछि तिनीहरूले उनलाई समातेर अरियोपागसको सभामा लगेर सोधे, “तपाईंले प्रचार गरिरहनुभएको यो नयाँ शिक्षाका बारेमा के हामी जान्‍न सक्छौँ? २० तपाईंले भनेका अनौठा कुराहरू हामी सुन्दैछौँ र त्यसको के अर्थ हो सो हामी जान्‍न चाहन्छौँ।” २१ त्यहाँ बस्‍ने सबै एथेनीहरू र परदेशीहरू केही काम गर्दैनथे तर नयाँ कुराहरू सुन्‍ने र त्यस बारेमा कुराकानी गरेर आफ्नो समय बिताउँथे। २२ अनि अरियोपागसको त्यस सभामा पावलले उठेर यसो भने, “हे एथेन्सका मानिसहरू हो! म देख्दैछु, तपाईंहरू हरकिसिमले अति धार्मिक हुनुहुँदोरहेछ। २३ किनकि जब म यस सहरतिर घुम्‍दै जाँदा तपाईंहरूले पूजा गर्ने वस्तुहरूलाई हेरेँ, त्यहाँ एउटा वेदीमा मैले यस्तो लेखिएको भेट्टाएँ: अज्ञात देवताका निम्ति। तपाईंहरूले अनजानमै जसको पूजा गरिरहनुभएको छ, म उहाँकै बारेमा तपाईंहरूलाई प्रचार गर्दछु। २४ “यस संसार र यसभित्र भएका हरेक कुरालाई सृष्‍टि गर्नुहुने परमेश्‍वर स्वर्ग र पृथ्वीका प्रभु हुनुहुन्छ र मानिसहरूका हातले निर्माण गरेका मन्दिरहरूमा उहाँ बस्‍नुहुन्‍न। २५ यदि उहाँलाई कुनै कुराको खाँचो पर्‍यो भने मानिसका हातबाट त्यसको सेवा लिनुहुन्‍न; किनकि उहाँ आफैँले सबै मानिसहरूलाई जीवन, सास र अरू सबै कुरा दिनुहुन्छ। २६ अनि उहाँले एक जना मानिसबाट पृथ्वीभरि बसोबास गराउनलाई सबै जातिका मानिसहरूलाई बनाउनुभयो; अनि तिनीहरूले बस्‍नुपर्ने ठाउँहरू र समयको सीमा पनि तोकिदिनुभयो। २७ मानिसहरूले उहाँलाई खोजून् र खोज्दै जाँदा भेट्टाऊन् पनि भनेर परमेश्‍वरले त्यसो गर्नुभयो। तर पनि उहाँ हामीबाट टाढा हुनुहुन्‍न। २८ ‘किनकि हामी उहाँसँग जिउँदछौँ, हिँड्दछौँ र उहाँमा नै हाम्रो अस्तित्व रहेको छ।’ तपाईंकै केही कविहरूले पनि यही कुरा यसरी भनेका छन्: ‘हामी पनि उहाँकै सन्तान हौँ।’ २९ “त्यसैले हामी परमेश्‍वरका सन्तान भएको कारण ईश्‍वर भनेको सुन वा चाँदी वा ढुङ्गाझैँ, मानिसको दक्षता र योजनाद्वारा निर्माण गरिएको एउटा मूर्तिजस्तो हुनुहुन्छ भनी हामीले सोच्नुहुँदैन। ३० बितेका समयमा यस्ता अज्ञानतामा परमेश्‍वरले ध्यान दिनुभएन, तर अब हरेक ठाउँका सबै मानिसहरूलाई उहाँले पश्‍चात्ताप गर्नू भन्‍ने आज्ञा दिनुहुन्छ। ३१ किनकि उहाँले एउटा दिन निश्‍चित गर्नुभएको छ, जुन दिन आफूले नियुक्त गर्नुभएको मानिसद्वारा न्यायका साथ यस संसारको फैसला गर्नुहुनेछ। उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ।” ३२ जब तिनीहरूले मरेकाहरूको पुनरुत्थानको विषयमा सुने, तब कतिले गिल्‍ला गर्न थाले; तर अरूले भने, “यस विषयमा हामी तपाईंबाट फेरि सुन्‍न चाहन्छौँ।” ३३ अनि पावल त्यस भीडबाट निस्केर बाहिर गए। ३४ तर कतिपय मानिसहरू पावलसँग मिले, र विश्‍वास गरे। तिनीहरूमध्ये डियनुसियस, अरियोपागसका सदस्य थिए। साथै दामारिस नामकी एउटी स्त्री र अरूहरूले पनि विश्‍वास गरे।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International

प्रयोग

अब, कसैलाई यो खण्डलाई आफ्नै शब्दमा दोहोर्याउन लगाउ, मानौं कि तिनीहरूले कहिल्यै नसुनेका साथीलाई भनिरहेछन्। गल्तीले केही छोडेमा वा थपेमा उनीहरूलाई मद्दत गरौं।यदि त्यसो हुन्छ भने हामी सोध्न सक्छौं, "तपाईले त्यो कथामा कहाँ फेला पार्नुहुन्छ?"
यस कथाले हामीलाई परमेश्वर, उहाँको चरित्र र उहाँ के गर्नुहुन्छ भन्ने बारेमा के सिकाउँछ?
यस कथाबाट हामी आफैंलगायत मानिसहरूको बारेमा के सिक्न सक्छौं?
यस कथाबाट हामी अगुवाहरु बन्ने बारेमा के सिक्छौ?
यस कथाबाट परमेश्वरको सत्यातालाई यस हप्ता तपाईं आफ्नो जीवनमा कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?
हामी फेरि भेट्नु अघि यो कथाको सत्यता तपाई कसलाई बताउनुहुन्छ? के तपाइँ अरू कोहि ब्यक्तिहरुलाई चिन्नुहुन्छ जो हामी जस्तै यस एपमा परमेश्वरको वचन बुझ्न चाहन्छन्?
अब हाम्रो बैठक सकिने क्रममा छ, हामी फेरि कहिले भेट्ने र अर्को बैठक कसले सहजीकरण गर्ने भनेर निर्णय गरौ।
हामी तपाईंलाई यो उत्साह दिन चाहनछौ कि तपाईंले गर्छु भनेको कुरा नोट गर्नुहोस, र फेरि भेट्नु अघिका दिनहरुमा यो कथा फेरी दोहोराएर पढ्नुहोस। यदि कसैसँग यो सामग्री छैन भने, सहजकर्ताले कथाको पाठ वा अडियो पठाएर मद्दत गर्न सक्नुहुन्छ। छुट्दै गर्दा, परमेश्वरको सहायताको लागि प्रार्थना गरौं।

0:00

0:00