२ मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूले धेरै किसिमका आपत्-विपत्हरूका सामना गर्नुपर्दा त्यसलाई अति आनन्द सम्झ; ३ किनकि तिमीहरूको विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ भनी तिमीहरू जान्दछौ। ४ तिमीहरू परिपक्व र पूर्ण भएर कुनै कुराको अभाव नहोस् भनेर धैर्यताले आफ्नो काम पूरा गर्नुपर्छ। ५ यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको कमी छ भने उदार चित्तले नझर्की दिनुहुने परमेश्वरसँग मागोस्, र त्यसलाई त्यो दिइनेछ। ६ तर जब कसैले माग्छ, त्यसले विश्वास गर्नुपर्छ र शङ्का गर्नुहुन्न; किनकि शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दै गरेको समुद्रको छालजस्तै हो। ७ त्यस मानिसले प्रभुबाट केही पाउँछु भनी नसोचोस्। ८ दोहोरो मन भएको मानिस उसका सबै कामहरूमा अस्थिर हुन्छ। ९ गरिबी अवस्थाका विश्वासीहरूले परमेश्वरले दिनुभएको आफ्नो उच्च पदमा गर्व गरून्, १० तर धनीले चाहिँ आफू होच्याइएकोमा गर्व गरून्; किनकि तिनीहरू त घाँसको फूलझैँ ओइलाएर जानेछन्। ११ किनकि चर्को तापसित सूर्य उदाउँछ, र बोटबिरूवालाई ओइलाइदिन्छ; त्यसको फूल झरिहाल्छ, र त्यसको सौन्दर्य नष्ट भइजान्छ। यस्तै किसिमले धनी मानिस आफ्नो उपलब्धीसँगै हराएर जानेछ। १२ त्यो मानिस धन्यको हो, जो आपत्-विपत्हरूमा स्थिर रहन्छ; किनकि त्यस जाँचमा त्यो पक्का ठहरिएपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका लागि प्रतिज्ञा गर्नुभएको छ। १३ परीक्षामा पर्दा कसैले पनि “परमेश्वरले मलाई परीक्षा गर्नुहुँदैछ” भनी नभनोस्; किनकि दुष्ट कुराहरूबाट परमेश्वर परीक्षित हुन सक्नुहुन्न, न त उहाँले कसैलाई परीक्षा गर्नुहुन्छ। १४ तर हरेक व्यक्ति आफ्नै खराब इच्छाहरूद्वारा खिँचिन्छ र मोहित भएर परीक्षामा पर्दछ। १५ त्यसपछि त्यो खराब इच्छाले गर्भधारण गरेर पापलाई जन्माउँछ; अनि पाप पूरा बढेपछि त्यसले मृत्युलाई जन्माउँछ। १६ त्यसैले मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, धोकामा नपर! १७ हरेक असल र सिद्ध दान माथिबाट अर्थात् स्वर्गीय ज्योतिका पिताबाट आउँछ, जो बदली रहने छायाजस्तो बदलिनुहुन्न। १८ सृष्टि गरिएका सबै थोकहरूमा हामी अगौटे फलजस्तै बनौँ भनेर उहाँले हामीलाई सत्यको वचनद्वारा जन्माउन चुन्नुभयो।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00